काठमाडाैं । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई १० वटा सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई १० विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।
पौडेलले लगानीकर्तालाई धितोपत्र बोर्डबाट जारी हुने सूचना तथा दस्तावेजमा मात्र सीमित नभई कम्पनी, वित्तीय अवस्था, मूल्यांकन, जोखिम र बजारको मनोविज्ञानसमेत बुझ्न आग्रह गरेका छन् । उनले भनेका छन्, “धितोपत्र बोर्डबाट जारी भएका विषय मात्र कति पढ्नुहुन्छ ? आज यताबाट जारी भएका कुरा पनि पढ्नुहोस् है।”
उनका अनुसार पुँजी बजारमा लगानी गरेर दीर्घकालीन र दिगो प्रतिफल हासिल गर्न ठूलो विद्वान हुन आवश्यक छैन । तर बजार र आफूले लगानी गर्ने कम्पनीबारे केही आधारभूत विषयको जानकारी भने अनिवार्यजस्तै हुन्छ ।
“बजारमा अरूलाई गाली गर्नुभन्दा तल उल्लेख गरिएका कुरा बुझ्नतिर लाग्दा घरमा श्रीमान् वा श्रीमतीसँग आँखा जुधाएर ‘मैले राम्रै गरेको छु’ भन्न सकिन्छ । फलाना र तिलानाको कारणले म डुबेँ भन्नुपर्दैन,” पौडेल भन्छन् ।
उनले लगानीकर्ताले ध्यान दिनुपर्ने १० विषय यसरी प्रस्तुत गरेका छन्ः
१. कम्पनीको व्यवसाय के हो, जान्नुहोस्
कम्पनीले के व्यवसाय गर्छ, कसरी पैसा कमाउँछ र भविष्यमा त्यसको माग कस्तो हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। राम्रो कम्पनी र राम्रो सेयर मूल्य एउटै कुरा होइन।
२. वित्तीय विवरणबारे जानकारी राख्नुहोस्
लगानीकर्ताले कम्तीमा कम्पनीको वित्तीय विवरणमा रहेका निम्न विषय बुझ्न सक्नुपर्ने पौडेलको सुझाव छ।
आम्दानी र नाफा
प्रतिसेयर आम्दानी (ईपीएस)
खुद सम्पत्ति (नेटवर्थ)
इक्विटीमा प्रतिफल (आरओई)
ऋण
नगद प्रवाह
लाभांश
सञ्चित आम्दानी
३. कम्पनीको मूल्यांकन र बजार मूल्य बुझ्नुहोस्
कम्पनी राम्रो हुँदैमा जुनसुकै मूल्यमा सेयर किन्नु हुँदैन। लगानीकर्ताले कम्पनीको मूल्यांकन गर्दा कम्तीमा मूल्य–आम्दानी अनुपात (पी-ई), मूल्य–बुक अनुपात (पी-बी), ईपीएस, लाभांश प्रतिफल, बजार पुँजीकरण र कम्पनीको वृद्धिदर हेर्नुपर्ने हुन्छ । लगानीकर्ताले ‘कम्पनी राम्रो छ कि छैन ?’ भन्ने प्रश्नसँगै ‘यो मूल्यमा किन्न राम्रो छ कि छैन ?’ भन्ने प्रश्न पनि गर्नुपर्छ।
४. कम्पनीको व्यवस्थापन र संस्थागत सुशासन हेर्नुहोस्
कम्पनीले आफ्नो पुँजीको सदुपयोग गरेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ। पटक–पटक हकप्रद सेयर जारी गरेर पुँजी बढाउने तर त्यसअनुसार प्रतिफल दिन नसक्ने अवस्था छ कि छैन भन्ने विषयमा पनि लगानीकर्ता सचेत हुनुपर्छ । त्यसैगरी सम्बन्धित पक्षसँग अस्वाभाविक कारोबार छ कि छैन, विगतमा कम्पनीले सेयरधनीसँग कस्तो व्यवहार गरेको छ र व्यवस्थापनले पुँजीलाई कति कुशलतापूर्वक परिचालन गरेको छ भन्ने विषय पनि हेर्नुपर्छ।
५. हरेक क्षेत्रको व्यवसाय र जोखिम फरक हुन्छ
बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक कम्पनी, होटल तथा लगानी कम्पनीको व्यवसाय र जोखिम एउटै हुँदैन । त्यसैले सबै कम्पनीलाई एउटै दृष्टिकोणबाट हेर्न हुँदैन । उदाहरणका लागि जलविद्युत् कम्पनीमा विद्युत् उत्पादन क्षमता, विद्युत् खरिद सम्झौता (पीपीए), व्यावसायिक उत्पादन सुरु भएको मिति (सीओडी), ऋण, ब्याज खर्च, आयोजना लागत तथा जलप्रवाहको अवस्था जस्ता विषय बुझ्न आवश्यक हुन्छ।
६. कम्पनीको भविष्यको वृद्धि र सम्भावना हेर्नुहोस्
कम्पनीको आजको ईपीएस मात्रै हेरेर लगानीको निर्णय गर्नु उचित नहुने पौडेलको सुझाव छ। तीनदेखि पाँच वर्षपछि कम्पनी कहाँ पुग्न सक्छ भन्ने विषय पनि विचार गर्नुपर्छ । यसका लागि कम्पनीका नयाँ आयोजना, उत्पादन क्षमता, विस्तार योजना, बजार, प्रतिस्पर्धाको अवस्था तथा नियामकीय वातावरणलगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ ।
७. बजारको मनोविज्ञान र चक्र बुझ्नुहोस्
पुँजी बजारमा सेयरको मूल्य सधैँ कम्पनीको आधारभूत अवस्थाअनुसार मात्र चल्दैन । बजारमा रहेको डर र लोभले छोटो अवधिमै मूल्यलाई धेरै माथि वा तल लैजान सक्छ । त्यसैले अरूले किन्दैछन् भनेर सेयर किन्ने र अरूले बेच्दैछन् भनेर बेच्ने प्रवृत्ति जोखिमपूर्ण हुन सक्छ ।
८. जोखिम व्यवस्थापन गर्नुहोस्
लगानीकर्ताले आफ्नो सबै पैसा एउटै कम्पनी वा एउटै क्षेत्रमा लगानी गर्नु हुँदैन । लगानी गर्दा जोखिमलाई समेत ध्यान दिन आवश्यक हुन्छ । यस क्रममा लगानीको विविधीकरण, तरलता जोखिम, ऋण जोखिम, ब्याजदर जोखिम, नियामकीय जोखिम तथा व्यवसायिक जोखिमलाई विचार गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता बुझ्नु हो ।
९. कम्पनीले प्रकाशित गर्ने विवरणमा आएका परिवर्तन हेर्नुहोस्
लगानीकर्ताले आफूले लगानी गरेको कम्पनीसँग सम्बन्धित नियमित विवरण अध्ययन गर्ने बानी बसाल्नुपर्छ । कम्तीमा कम्पनीको वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रकाशित विवरण, धितोपत्र बोर्डसम्बन्धी सूचना तथा कम्पनीका साधारणसभा (एजीएम) सम्बन्धी दस्तावेज पढ्नुपर्ने हुन्छ ।
१०. धैर्य र अनुशासन कायम राख्नुहोस्
लगानीमा सबैभन्दा कठिन तर महत्वपूर्ण पक्ष धैर्य र अनुशासन हो । राम्रो कम्पनी गलत समयमा किन्दा पनि प्रतिफल प्राप्त गर्न समय लाग्न सक्छ। त्यसैले आफूले गरेको लगानीको आधारभूत विश्लेषण वा लगानीको कारण परिवर्तन नभएको अवस्थामा बजारको दैनिक उतारचढावकै आधारमा निर्णय परिवर्तन गर्न हुँदैन ।








प्रतिक्रिया दिनुहोस्