Skip to content

काठमाडौंका यी स्थानमा आजदेखि २६ गतेसम्म विद्युत् कटौती हुने

काठमाडौं । काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि आजदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिनेछ ।

सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ । असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ । त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ । मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती गरिने छैन ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो । दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ । यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइने जनाइएको छ ।

भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुनुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्नेछ । सडक तथा सहरी क्षेत्रमा विद्युत, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तारहरू जथाभावी तथा गुजुल्टिएर रहँदा उत्पन्न हुने अव्यवस्थित दृश्यलाई समेत भूमिगत प्रणालीले व्यवस्थित गर्न सहयोग गर्नेछ ।यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य अभिवृद्धि हुनुका साथै व्यवस्थित र आधुनिक विद्युत् वितरण प्रणाली निर्माणमा योगदान पुग्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima