Skip to content

सुलभ अग्रवालको कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारले सोध्यो- २ महिनामा सेयर मूल्य १०० बाट कसरी ८०० रुपैयाँ पुग्यो ?

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले कामाख्या फिनकर्प प्रालिको सेयर मूल्य कम्पनी दर्ताको समयमा कायम रहेको मूल्यभन्दा अस्वाभाविक रूपमा बढेको भन्दै ७ दिन भित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

कार्यालयले कामाख्या फिनकर्पसँगै कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र तत्कालीन अध्यक्ष सुभी अग्रवालका नाममा समेत छुट्टा छुट्टै ७ दिने सूचना जारी गरेको छ ।

कार्यालयले १०० रुपैयाँको सेयर दुई महिनामा नै कसरी ८०० रुपैयाँ पुग्यो ? भन्दै प्रश्न गरेको हो ।

कार्यालयका अनुसार कामाख्या फिनकर्प कम्पनी दर्ता हुँदा २०७८ वैशाख ३१ गते प्रतिसेयर मूल्य १०० रुपैयाँ कायम रहेकोमा २०७८ असार १७ गते प्रतिसेयर मूल्य ८०० रुपैयाँ कायम भएको थियो ।

कार्यालयले सेयर मूल्य १०० रुपैयाँबाट ८०० रुपैयाँ पुग्नुको ठोस आधार, कारण र त्यसलाई पुष्टि गर्ने प्रमाण पेस गर्न निर्देशन दिएको हो । कम्पनी दर्ताको समयमा कायम गरिएको सेयर मूल्यमा गरिएको परिवर्तनको कानुनी तथा व्यावसायिक आधार के थियो भन्ने विषयमा कार्यालयले प्रमाण खोजेको हो ।

कार्यालयले कामाख्या फिनकर्पको सेयर मूल्यसम्बन्धी विषय मात्र नभई हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया पनि कानुनअनुसार भए/नभएको यकिन गर्न खोजेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर जफत तथा हस्तान्तरण गर्दा कम्पनीका आन्तरिक दस्तावेज तथा प्रचलित कानुनी व्यवस्थाको पालना भएको थियो कि थिएन भन्ने विषयमा प्रमाणसहित जवाफ मागिएको हो।

कामाख्या फिनकर्पको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन, २०६३ को पालना भए/नभएको सम्बन्धमा आवश्यक प्रमाण बुझाउनसमेत कार्यालयले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले एउटै विषयमा कामाख्या फिनकर्प प्रालिका साथै नाममा मात्र नभई कम्पनीका तत्कालीन पदाधिकारीहरू सुलभ अग्रवाल र सुभी अग्रवालका नाममा समेत सूचना जारी गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima