काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख.१४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा करिब १२–१३ वर्षीया ममता तिवारी, करिब १३–१४ वर्षीय अशिम कँडेल र नामथर नखुलेका दुई बालिका रहेका छन् । त्यस्तै, सोही बसमा सवार पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ । तिवारी उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत तीनै जना विद्यार्थीको अवस्था मध्यम रहेको छ । उनीहरू पोखरा महानगरपालिका–२८ निवासी १६ वर्षीय सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र १६ वर्षीय सौगात तिमिल्सिना हुन् । उनीहरू कक्षा १० मा अध्ययनरत रहेको बताइएको छ ।
गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको अवस्था मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । घाइतेमध्ये अधिकांश विद्यार्थी रहेका छन् । बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्