धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।
जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो ।
सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे । सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उनले बताए ।
सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताए । जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताए । रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उनले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गरे ।
“उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ । म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे”, उनले भने ।
टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताए ।
“मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्