काठमाडौं । पाल्पास्थित लुम्बिनी मेडिकल कलेजबाट संस्थापक गोपाल पोखरेलसहितको समूह औपचारिक रूपमा बाहिरिएको हो।
गोपाल पोखरेलसहितको समूहले आफ्नो स्वामित्वमा रहेको सेयर आईटी उद्यमी दिनेश सिलवाल नेतृत्वको समूहलाई बिक्री गरेको हो। १३५ जना संस्थापक सेयरधनी रहेको लुम्बिनी मेडिकल कलेजको करिब ७० प्रतिशत स्वामित्व सिलवालसहितको समूहले करिब १ अर्ब ६० करोड रुपैयाँमा खरिद गरेको स्रोतले जानकारी दिएको छ।
लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर खरिद गरेका दिनेश सिलवाल नेपालकै प्रतिष्ठित आईटी कम्पनी ‘कोडावतार’का अध्यक्ष हुन्। सेयर किनबेच सम्पन्न भएसँगै कलेजको नयाँ सञ्चालक समिति पनि गठन गरिएको छ। नयाँ सञ्चालक समितिको अध्यक्षमा सिलवाल चयन भएका छन्।
प्रवन्ध निर्देशकमा डा. बलभद्र अधिकारी नियुक्त भएका छन् भने सञ्चालक समितिमा निर्दोश खनाल, दिवेश लोहनी र गोविन्द उपाध्याय रहेका छन्। निर्दोश खनाल यसअघि पनि पुरानो सञ्चालक समितिमा सदस्यको रूपमा रहेका थिए। पुराना सेयरधनीमध्ये तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठसहितको समूह भने अझै सेयरधनीका रूपमा कायम रहेको बताइएको छ।
गोपाल पोखरेल समूहले यसअघि बुटवलस्थित देवदह मेडिकल कलेजको स्वामित्व खरिद गरेको थियो। देवदह मेडिकल कलेजको स्वामित्व लिएपछि पोखरेल समूहले लुम्बिनी मेडिकल कलेजको सेयर बिक्री गरी बाहिरिने तयारी गरेको थियो। पछिल्लो चार वर्षदेखि विभिन्न समूहसँग भएको छलफल अन्ततः सिलवाल समूहसँग सहमतिमा पुगेपछि सेयर किनबेचको प्रक्रिया पूरा भएको हो।
व्यवसायी गोपाल पोखरेलले आफ्ना केही साथीसँग मिलेर वि.सं. २०६२ सालमा लुम्बिनी मेडिकल कलेज सञ्चालनमा ल्याएका थिए। आईटी क्षेत्रमा नेपालबाट सबैभन्दा बढी निर्यात गर्ने कम्पनीका रूपमा परिचित कोडावतारले नेपाल सरकारबाट सम्मानसमेत प्राप्त गरिसकेको छ।
झण्डै २० वर्ष लामो चिकित्सा शिक्षाको विरासत बोकेको लुम्बिनी मेडिकल कलेज ३११ रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल कलेजका २० वटा भवन पूर्ण रूपमा सञ्चालनमा छन्। कलेजले चिकित्सा शिक्षाका तीनवटा कार्यक्रम अध्यापन गराउनुका साथै विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ।
लुम्बिनी मेडिकल कलेजको ४०० शय्या शिक्षण अस्पताल स्वीकृत भए पनि हाल ६०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा रहेको छ। शिक्षण अस्पतालले दैनिक करिब ५०० जनालाई ओपीडी सेवा प्रदान गर्दै आएको छ भने करिब ३०० शय्यामा बिरामी भर्ना रहने गरेका छन्।







प्रतिक्रिया दिनुहोस्