Skip to content

सरल अर्थशास्त्री केशव आचार्यः जटिल विषयलाई सहज बनाउने गुरूलाई श्रद्धाञ्जली !

nabil bank

काठमाडौं।२०६७ सालको भदौको पहिलो साता। एउटा ठेगाना खोज्दै म पहिलो पटक अर्थशास्त्री केशव आचार्यको निवास पुगेको थिएँ।उद्देश्य  थियो अर्थ मन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार आचार्यसँग कुराकानी गरेर एउटा विचारमूलक लेख तयार पार्ने।त्यो समय म व्यवसायिक आर्थिक पत्रकारिताको प्रारम्भिक चरणमा थिएँ, र मेरो कार्यस्थल थियो ‘आर्थिक अभियान’।

त्यसका सम्पादक थिए अच्युत वाग्ले, जो हाल काठमाडौं विश्वविद्यालयका उपकुलपति हुन्। उनले दिएको जिम्मेवारी पूरा गर्न म आचार्यको निवास पुगेको थिएँ। फोनमा र केही कार्यक्रममा भेटभएपनि औपचारिक रुपमा उनीसँगमात्र प्रत्यक्ष भेट भने त्यो पहिलो थियो।

पहिलो भेटमै आचार्यको शैली प्रस्ट थियो—जटिल अर्थशास्त्रलाई अत्यन्त सरल भाषामा बुझाउने क्षमता। करिब एक घण्टाको कुराकानीमा उनले अर्थतन्त्रका गहिरा विषयलाई कुनै पाठ्यपुस्तक जस्तो होइन, जीवनकै अनुभव जस्तो गरी प्रस्तुत गरे। संयोगले, ‘आर्थिक अभियान’ को पहिलो औपचारिक दैनिक अंकको पहिलो विचार उनै आचार्यको रह्यो, र त्यो कुराकानी गर्ने अवसर मैले पाएको थिएँ।

गुरुजस्तै अर्थशास्त्री

त्यसपछि सुरु भयो लामो सम्बन्ध—पत्रकार र स्रोतको मात्र होइन, सिक्ने र सिकाउने सम्बन्ध। संस्था फेरिए, समय फेरियो, तर अर्थतन्त्रका विषयमा आचार्यसँगको संवाद कहिल्यै टुटेन।

आर्थिक पत्रकारितामा लागेका हामीजस्ता धेरैका लागि आचार्य‘सर’ मात्र होइन, एक मार्गदर्शक थिए। वरिष्ठदेखि कनिष्ठ पत्रकारसम्म, सबैका लागि उनी समान रूपमा सहज र उपलब्ध।

सेयर बजारका ‘बुल’ र ‘बेयर’ ट्रेन्डले आर्थिक पत्रकारितालाई बाहिरबाट आकर्षक बनाएको भए पनि यसको भित्री जटिलता निकै गहिरो छ। अझ म जस्तोजस्तो पत्रकारिता मात्र पढेर आएको व्यक्तिका लागि ‘शोधनान्तर’ जस्तो शब्द बुझ्न नै कठिन हुन्थ्यो।

तर, यस्ता जटिल विषयमा पनि आचार्यले कहिल्यै झर्को मानेनन्।घण्टौं फोनमा वा भेटेरै उनले धैर्यपूर्वक बुझाउने गर्थे। उनीसँगको प्रत्येक संवाद एउटा कक्षा जस्तै हुन्थ्यो—जहाँ शिक्षक कठोर होइन, सहृदय हुन्थे।

नीतिगत योगदान दूरदृष्टि

नेपालको आर्थिक नीतिमा पनि आचार्यको भूमिका महत्वपूर्ण रह्यो।मनमोहन अधिकारी नेतृत्वको पहिलो एमाले सरकारको समयमा, भरतमोहन अधिकारीले ल्याएको लोकप्रिय ‘बृद्धभत्ता’ कार्यक्रमको अवधारणामै आचार्य विज्ञका रूपमा जोडिएका थिए।

त्यो कार्यक्रमले एमालेको राजनीतिक आधार विस्तारमा ठूलो भूमिका खेल्यो। तर विडम्बना, समयसँगै त्यही सामाजिक सुरक्षा खर्चको बढ्दो भारले आचार्यलाई चिन्तित बनायो।

एकपटक रिपोर्टिङका क्रममा उनले मसँग भनेका शब्द आज पनि कानमा गुन्जिन्छन्,“राजस्वले धान्नेभन्दा बढी खर्च सामाजिक सुरक्षामा भयो भने, आउने पुस्ताले मलाई गाली गर्छन् भन्ने डर लाग्छ बाबु।”

आजको अवस्थाले हेर्दा, सामाजिक सुरक्षा कार्यक्रममा झण्डै दुईखर्ब खर्च हुने स्थिति आएको छ। आचार्यको त्यो चिन्ता केवल सैद्धान्तिक थिएन, त्यो भविष्यप्रतिको गहिरो जिम्मेवारी बोध थियो।

पदभन्दा विचार ठूलो

सुरेन्द्र पाण्डे पछि भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा आचार्य केहीसमय आर्थिक सल्लाहकार बने। तर, उनले पदलाई कहिल्यै प्राथमिकता दिएनन्—आफ्नो विचार र नीतिगत स्वतन्त्रतालाई भने सधैं जोगाए।

पछि उनले सरकारी पदबाट राजीनामा दिए र प्रत्यक्ष प्रशासनिक भूमिकाबाट अलग भए।

कम्युनिष्ट विचारधारासँग नजिक देखिए पनि उनी अन्धसमर्थक थिएनन्। नेपालजस्तो मुलुकमा ‘नर्डिक मोडल’—समावेशी, समानतामूलक र दिगो अर्थनीति अपनाउनुपर्ने उनको स्पष्ट धारणा थियो।

२०७४ सालमा शक्तिशाली कम्युनिष्ट सरकार बनेपछि उनी नयाँ आर्थिक सुधारको अपेक्षामा थिए। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी को उदयपछि पनि उनी उत्तिकै आशावादी देखिन्थे।

अन्तिम सम्झना

आचार्यसँगको अन्तिम भेट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको छोराको विवाह समारोहमा हुँदा उनले युवा नेतृत्व, विशेषगरी ‘बालेन’ जस्तो नेतृत्वसँग पनि सकारात्मक अपेक्षा व्यक्त गरेका थिए। आचार्य सर केवल अर्थशास्त्री थिएनन्—उनी ज्ञानलाई सरल बनाउने सेतु थिए।

जटिल आर्थिक शब्दलाई सामान्य भाषामा अनुवाद गर्ने उनको क्षमता, पत्रकारहरूका लागि अमूल्य सम्पत्ति थियो। उनले अर्थतन्त्रलाई केवल तथ्य र अंकमा होइन, समाज र भविष्यसँग जोडेर हेर्न सिकाए।

आज उनी हामीमाझ छैनन्। तर उनले सिकाएको सोच, संवादकोशैली र जिम्मेवारीबोध भने जीवित छ।

सरलतामा गहिराइ खोज्ने, जटिलतामा स्पष्टता ल्याउनेअर्थशास्त्री केशव आचार्य प्रति हार्दिक श्रद्धाञ्जली।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi