Skip to content

पश्चिम एशियाको संकटः पेट्रोल लिटरमा १५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थका मूल्यमा वृद्धि गरेको छ। पश्चिम एशियामा देखिएको भू–राजनीतिक तनाव तथा कच्चा तेल आपूर्तिमा उत्पन्न अनिश्चितताका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ।

निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँ वृद्धि गरिएको हो।

मूल्यवृद्धिपछि पहिलो वर्गमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गमा पेट्रोल १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा प्रतिलिटर १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पर्नेछ।

निगमले मूल्य वर्गीकरणअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज समेटिएको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ राखिएका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।

निगमका अनुसार पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिँदै गएको र आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima