काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली समाजमा ‘पिंक सल्ट’ तर्फको आकर्षण बढ्दो देखिएको छ ।
आयोडिनयुक्त नुनको सट्टा ‘पिंक सल्ट’, (सिद्धे नुन) प्रयोग गर्नेहरू दैनिक जसो बढ्नै गएका छन् । सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना, सिद्धे नुन ‘प्राकृतिक’ भन्ने र मानिसहरूको स्वास्थ्यप्रति बढ्दो चासोले धेरैलाई ‘सिद्धे नुन’ प्रयोगतर्फ आकर्षित बढ्दो देखिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झा का अनुसार यस्तो प्रवृत्तिले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । नेपालमा विगत केही दशकदेखि आयोडिनयुक्त नुनको प्रयोगलाई प्रोत्साहन गरिँदै आएको छ । आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्त्व हो । यसले विशेषगरी थाइराइड ग्रन्थिको कामलाई सन्तुलित राख्न मद्दत गर्छ । यसको कमी हुँदा घाँटी सुन्निने (घेंघा), मानसिक विकासमा अवरोध, बालबालिकामा बुद्धि विकास कमजोर हुनेजस्ता समस्या देखिने डा.झा बताउँछन् ।
यसले ४ प्रतिशत क्रिटिनिज्मका बिरामीलाई स्याहार गर्न अर्को सग्लो ४ प्रतिशत जनशक्ति दैनिकरूपमा व्यस्त हुनुपर्ने अवस्था थियो । ‘यसको अर्थ ८ प्रतिशत जनतालाई कामै नगरी पाल्नुपर्ने अवस्था सृजना हुन्छ’ उनी भन्छन्, ‘यसले राष्ट्रको उत्थान हुँदैन भन्ने निष्कर्षका साथ नेपालमा आयोडिनयुक्त नुनको बिक्री वितरणको अवधारणा आयो ।’ आयोडिनसँग जोडिएका अन्तर्राष्ट्रिय संस्थाहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफ माइक्रोनेट इनिसिएटिभ र आईसीआईडीको सहयोग र सहकार्य तथा भारत सरकारको प्रत्यक्ष सहयोगमा वि.सं. २०३० सालदेखि आयोडिनयुक्त नुन बिक्री गर्न थालको उनले बताए ।
झा का अनुसार नेपाली भान्साको परम्परागत शैलीले पनि आयोडिनको मात्रा घटाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रायः खाना पकाउने क्रममा सुरुमै नुन हाल्ने, लामो समयसम्म पकाउने, तरकारी भुट्ने र अमिलो मिसाउने चलनले नुनमा भएको आयोडिन नष्ट हुँदै जान्छ । ‘नछोपीकन पकाउँदा त आयोडिन झन् छिटो उडेर जान्छ । यसरी खाना तयार हुँदासम्म नुनमा मिसाइएको आयोडिनको ठुलो हिस्सा हराइसकेको हुन्छ’ उनी भन्छन् ।
आयोडिन मानव शरीरका लागि अत्यन्त आवश्यक सूक्ष्म पोषक तत्त्व हो । यसले घाँटीमा रहेको थाइराइड ग्रन्थिलाई सक्रिय बनाउँदै थाइरोक्सिन हर्मोन उत्पादन गर्न सहयोग गर्छ। यही हर्मोनले शरीरको मेटाबोलिज्म अर्थात् ऊर्जा उत्पादन र प्रयोगको प्रक्रियालाई नियन्त्रण गर्छ । आयोडिनको कमी हुँदा शरीरले खाएको खाना प्रभावकारी रूपमा ऊर्जामा परिणत गर्न सक्दैन, जसका कारण मानिसमा थकान, सुस्ती र अल्छीपन देखिने झा बताउँछन् ।
‘आयोडिन कम भयो भने यसको असर गर्भावस्थादेखि नै देखिन थाल्छ, पर्याप्त आयोडिन नपाउँदा गर्भ तुहिने, मृत शिशु जन्मिने वा शारीरिक तथा मानसिक रूपमा कमजोर बच्चा जन्मिने जोखिम हुन्छ’, उनी भन्छन्, ‘बालबालिकामा सिक्ने क्षमता घट्ने, ध्यान केन्द्रित गर्न नसक्ने र बौद्धिक विकासमा कमी आउने समस्या देखिन्छ।’
झाका अनुसार सन् १९६५ मा तत्कालीन सरकारले देशव्यापी ‘सर्भे’ गर्यो । ‘उक्त ‘सर्भे’ले ५५ प्रतिशत जनतामा आयोडिनको कमी रहेको र त्यसबाट हुने कुनै न कुनै प्रकारको विकृतिबाट उनीहरू प्रभावित बनिरहेको प्रतिवेदन ल्यायो ।’ उनी भन्छन्, ‘त्यसमध्ये ४ प्रतिशत मानिसमा क्रिटिनिज्म फेला पर्यो । क्रिटिनिज्म भनेको सुस्त मनस्थितिका हुन्, जसले आफ्नो काम आफैँ गर्न सक्दैनन् । क्रिटिनिज्मलाई भयावह अवस्थाका रूपमा समेत लिइन्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नै आयोडिन अभाव भएका बालबालिकामा आईक्यू स्तर समेत उल्लेखनीय रूपमा कम हुने जनाएको छ वयस्कहरूमा यसको कमीले थाइरोइडसम्बन्धी समस्या, अस्वाभाविक मोटोपन, मानसिक सुस्ती तथा महिलाहरूमा महिनावारी अनियमित हुने र बाँझोपनको जोखिम बढाउने समस्याहरू देखिने झा बताउँछन् ।
‘यस्तो अवस्थामा ‘पिंक सल्ट’ वा अन्य परम्परागत नुनको प्रयोग बढ्नु स्वास्थ्यका दृष्टिले चिन्ताजनक विषय हो’ उनी भन्छन् । उनका अनुसार नेपालले विगतमा आयोडिन अभावका कारण गम्भीर स्वास्थ्य समस्या भोगेको थियो ।
नेपालमा विगतका दशकहरूमा कण्ठरोगजस्ता समस्या व्यापक थिए । तर, आयोडिनयुक्त नुनको प्रयोगलाई विस्तार गरेपछि यस्तो समस्या उल्लेखनीय रूपमा घटेको छ। नेपाल सरकार तथा डब्ल्यूएचओको वर्षौंको प्रयासपछि हासिल गरिएको यो उपलब्धि अहिले फेरि जोखिममा पर्ने संकेत देखिन थालेको उनी बताउँछन् । यदि आयोडिनयुक्त नुन प्रयोग गर्ने बानी घट्दै गयो भने पुराना स्वास्थ्य समस्याहरू पुनः देखा पर्न सक्ने सम्भावना रहेको उनको बुझाई छ ।
सामाजिक सञ्जाल लगायतका भ्रामक कुराहरूले कतिपय मानिसहरू आयोडिन बढी भयो भन्ने डरले पनि आयोडिनयुक्त नुनबाट टाढिन खोजिरहेको उनी बताउँछन् । ‘सामान्य खानपानबाट अत्यधिक आयोडिन सेवन हुने सम्भावना अत्यन्तै न्यून हुन्छ’ उनी भन्छन् । नियमित रूपमा अत्यधिक मात्रामा आयोडिन सेवन गरेमा मात्र समस्या देखिन्छ, जुन दैनिक जीवनमा व्यवहारिक रूपमा सम्भवजस्तो हुँदैन। त्यसैले आयोडिनयुक्त नुनको सन्तुलित प्रयोगले हानि भन्दा फाइदा नै बढी पुर्याउछ ।
आजको सन्दर्भमा ‘पिंक सल्ट’को आकर्षण नयाँ हुन सक्छ, तर मानव स्वास्थ्यका लागि आयोडिनको आवश्यकता पुरानो भए पनि अझै अपरिहार्य छ। नुन केवल स्वाद बढाउने सामग्री मात्र होइन, यो शरीरको विकास, बौद्धिक क्षमता र समग्र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले प्रचार र हल्लाको पछि लाग्नु भन्दा वैज्ञानिक तथ्य र दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर नुनको छनोट गर्नु नै बुद्धिमानी हुने झाले बताए ।
सुरुमा आयोडिन नुन वितरण गर्दा सरकारको आदेश अनुसार नुनमा १५ पीपीएम (पार्ट पर मिलियन) आयोडिन मिसाउन थालिएको थियो । ‘१५ पीपीएम भनेको १० लाख भागमा १५ भाग हो । त्यसको प्रभाव त्यति राम्रो भएन । त्यसलाई फेरि थपेर २० हुँदै ३० पीपीएम पुर्याइयो उनी भन्छन्, ‘त्यसो गर्दा पनि राम्रो प्रभाव देखिएन ।’
नुन कालो भयो भनेर धोइपखाली गर्ने, पग्लिन्छ भनेर आगोको छेउमा राख्ने र लामो समय खुला भण्डारण गरिनेलगायत कारणबाट नुनको बाहिरी भागमा मात्रै मिसाइएको आयोडिन नष्ट हुने र पुरानै अवस्थामा पुग्ने समस्या देखिएको र त्यसलाई व्यवस्थापन गर्न सरकारले फेरी नुनमा आयोडिनको मात्र थप्ने योजना बनाएको उनी बताउँछन् ।
सरकारको योजना अनुसार नुनलाई धुलो बनाएर आयोडिन मिसाउने र प्याकिङ गरेर बिक्रीवितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन दियो । सोही अनुसार हालसम्म आयोडिनयुक्त धुलो नुनलाई प्याकेटमा राखेर नेपालको सुगमदेखि दुर्गम भू–भागहरूसम्मै विक्रीवितरण गरिँदै आएको उनी बताउँछन् । अहिले विक्रीवितरण गरिँदै आएको प्याकेटमा ५० पीपीएम आयोडिन मिसाइएको छ । अहिलेसम्म त्यही मात्राले काम गरिरहेको झाले बताए ।












प्रतिक्रिया दिनुहोस्