Skip to content
Prabhu

आयोजनाले सम्झौता रद्द गर्ने चेतावनी दिएपछि मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

nabil

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । 

चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनले काम सम्हालेको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । 

यसअघि उक्त कम्पनीले सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । आयोजना कार्यालय जोमसोमले गत माघ दोस्रो साता ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा आयोजना कार्यालयले तत्काल कामको प्रगति देखिनेगरी निर्माण सुरु नगरे ठेक्का रद्द गर्ने र पुनःनयाँ टेण्डर प्रक्रियामा जाने चेतावनी दिएपछि आफूहरु काममा फर्किएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनका मुख्य प्रतिनिधि हरिबहादुर खत्रीले राससलाई जानकारी दिए । 

उनका अनुसार विगत दुई सातादेखि पर्याप्त मजदुर र उपकरण राखेर गतिमा निर्माण अघि बढेको छ । सम्झौतामा ३० महिनाभित्र सडक सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ । दोस्रोपटक थपिएको म्यादसमेत गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनःतेस्रो पटक छ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ । पुनःअसार मसान्तसम्म म्याद थप गर्ने तयारी भइरहेको आयोजनाका साइड इञ्चार्ज इञ्जिनियर अच्युतविलास पन्तले जानकारी दिए । उक्त अवधिभित्र काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । 

ठेक्का सम्झौतामा कालीगण्डकी नदीबाटै निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भए पनि सर्वोच्च अदालतको आदेशका कारण सामग्री प्रयोग गर्न नपाएको भन्दै अब छिमेकी जिल्ला वा अन्य वैकल्पिक उपाय अपनाएर भए पनि सामग्री उपलब्ध गराई निर्माणलाई तीव्रता दिने र थप भएको अवधिभित्रै निर्माणसक्ने एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनका प्रतिनिधि खत्रीले बताए । निर्माण सामग्रीको अभाव देखाएर सहायक ठेकेदारले योजना अलपत्र पार्दै आएको भन्दै अब भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने उनको भनाइ छ । 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । पहिले कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको छ । हिउँदमा धुलो र वर्षाद्मा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका छन् । म्याग्दी र मुस्ताङ तथा पर्वतकै जलजला क्षेत्रमा सञ्चालन हुने दैनिक सयौँको सङ्ख्याका सवारीले उडाएको धुलो बस्तीसम्म पुग्दा स्थानीयवासीको जीवनयापनसमेत कष्टकर भएको छ । सडकमा गुडेका सवारीसाधनले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधारणको स्वास्थ्यमा असर पुगेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । 

सडक खण्डअन्तर्गत पर्ने पर्वतको खनियाघाट, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्न सवारी आवतजावत बन्द गरेरै निर्माणलाई तीव्रता दिएको बताए । फागुन ९ गतेदेखि दैनिक चार घण्टा बन्द गरेर निर्माण थालिएको हो । अब कटानको काम करिब सकिएको र अन्य काम भइरहेको उनको भनाइ छ । 

विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर विसं २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal