काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको सेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) भित्र्याउने तयारी अघि बढाएको छ । नेपाली पूँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित सेबोनले दोस्रो बजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि विस्तृत अवधारणापत्र सार्वजनिक गरेको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा जारी ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित व्यवस्थाअनुसार ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ तयार गरी सरोकारवाला र आम लगानीकर्ताको राय–सुझावका लागि खुला गरिएको हो ।
सेबोलले प्रारम्भिक चरणमा पहिले खरिद गरी पछि बिक्री गर्ने (‘बाइ फस्र्ट एन्ड सेल लेटर’) प्रकृतिको कारोबारबाट इन्ट्राडे ट्रेडिङ सुरु गर्ने प्रस्ताव अघि सारेको छ । धितोपत्र सापटी तथा ऋण कारोबार र सुरक्षित छोटो बिक्रीका लागि आवश्यक पूर्वाधार तयार भएपछि मात्र पहिले बिक्री गरी पछि खरिद गर्ने प्रकृतिको कारोबार सञ्चालनमा ल्याउने अवधारणा अघि सारिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डले मार्जिन ऋण कारोबारसम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सरोकारवालाबाट प्राप्त सुझाव समेटेर त्यसलाई अन्तिम रूप दिने काम भइरहेको जनाएको छ । सोही क्रममा अन्तरदिवसीय कारोबार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्ने उद्देश्यले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक परामर्शका लागि ल्याइएको हो।
प्रस्तावित अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ ।
बोर्डले नेपालको विद्यमान बजार संरचना, संस्थागत क्षमता तथा जोखिम व्यवस्थापनको अवस्थालाई ध्यानमा राख्दै अन्तरदिवसीय कारोबारलाई एकैपटक पूर्ण रूपमा सञ्चालनमा ल्याउनुभन्दा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ ।
प्रारम्भिक चरणमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका तथा बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउने प्रस्ताव गरिएको छ। परीक्षण चरणबाट प्राप्त अनुभव र जोखिमको मूल्याङ्कनका आधारमा पछि कारोबारको दायरा विस्तार गर्ने अवधारणा अघि सारिएको छ।
अवधारणापत्रमा अन्तरदिवसीय कारोबारलाई पहिलो चरणमा पहिले खरिद गरी पछि बिक्री गर्ने प्रकृतिबाट सुरु गर्ने प्रस्ताव गरिएको छ। अर्थात् लगानीकर्ताले कारोबार अवधिभित्रै धितोपत्र खरिद गरी सोही अवधिमा बिक्री गर्न सक्ने व्यवस्था हुनेछ ।
तर पहिले बिक्री गरी पछि खरिद गर्ने अर्थात् छोटो बिक्री (सर्ट सेटिङ) प्रकृतिको कारोबार भने तत्काल सुरु नगर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि आवश्यक धितोपत्र सापटी तथा ऋण कारोबारको व्यवस्था र सुरक्षित छोटो बिक्रीका लागि आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्रै यस्तो कारोबार सञ्चालनमा ल्याउने अवधारणा छ ।
बोर्डले अन्तरदिवसीय कारोबार तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुभन्दा पहिले आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तयार गर्नुपर्ने जनाएको छ । यसका लागि योग्य धितोपत्रका मापदण्ड, योग्य लगानीकर्तासम्बन्धी व्यवस्था, धितोपत्र दलालको कार्यसञ्चालन मापदण्ड, जोखिमसम्बन्धी जानकारी, मार्जिन तथा जोखिम व्यवस्थापन प्रणाली, बजार निगरानी प्रणाली र प्रविधिगत पूर्वाधार तयार गर्ने प्रस्ताव गरिएको छ ।
आवश्यक तयारी पूरा भएपछि परीक्षण तथा प्रयोगात्मक सञ्चालन गरिने र त्यसबाट प्राप्त परिणामका आधारमा प्रणालीको तयारी अवस्थाको मूल्याङ्कन गरी अन्तरदिवसीय कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने अवधारणा अघि सारिएको छ ।
बोर्डले प्रारम्भिक चरणमा सबै धितोपत्रमा अन्तरदिवसीय कारोबार खुला नगरी निश्चित मापदण्ड पूरा गर्ने सीमित धितोपत्रमा मात्रै यस्तो कारोबार सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसका लागि नियमित कारोबार, पर्याप्त तरलता, मूल्यमा हुने उतारचढाव तथा बजार दुरुपयोगको जोखिमलगायतका विषयलाई आधार बनाइने अवधारणा छ। परीक्षणबाट प्राप्त अनुभव र जोखिमको अवस्थाका आधारमा योग्य धितोपत्रको संख्या तथा कारोबारको दायरा क्रमशः विस्तार गर्ने योजना छ ।
अन्तरदिवसीय कारोबारसम्बन्धी विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिमा छलफल भएको थियो ।
सोही समितिले आवश्यक अध्ययन गरी अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र तयार गरेको बोर्डले जनाएको छ । बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ तथा यसको कार्यकारी सारांश सार्वजनिक गर्दै लगानीकर्ता तथा सरोकारवालाबाट सुझाव मागेको छ ।
अवधारणापत्रमा समेटिएका विभिन्न विषय तथा लगानीकर्ताले सुझाव दिन सक्ने विषयहरूको विस्तृत विवरण बोर्डले उपलब्ध गराएको लिङ्कमार्फत हेर्न सकिने जनाएको छ।








प्रतिक्रिया दिनुहोस्