काठमाडौं । नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले आज एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले स्वदेशी उद्योग र हस्तकला क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।
महासङ्घले बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन र कर प्रणालीमा सरलीकरणलाई प्राथमिकता दिएको भन्दै यसको स्वागत गरेको छ । बजेटले २७३ प्रकारका औद्योगिक कच्चापदार्थमा भन्सार दर घटाएको र ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरेको विषयलाई सकारात्मक रूपमा लिएको छ ।
“कच्चापदार्थ र तयारी वस्तुको करको दरबीच सन्तुलन कायम गर्ने प्रयासले स्वदेशी उद्योगको उत्पादन लागत घट्ने र निर्यात बढ्ने हाम्रो विश्वास छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै, अधिकतम आयकरको दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा कायम गरिनु र वार्षिक रु १० लाखसम्म आय गर्नेलाई न्यून करको दायरामा ल्याइनुले हस्तकला क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू लाभान्वित हुने महासङ्घको अपेक्षा छ । बजेटमा उल्लिखित सहुलियतपूर्ण कर्जाको व्यवस्थाले हस्तकला क्षेत्रमा संलग्न ठूलो सङ्ख्याका महिला उद्यमी प्रोत्साहित हुने महासङ्घले जनाएको छ । यस्तै, स्वदेशी काष्ठ उद्योगलाई प्रोत्साहित गर्ने बजेटको नीतिले काष्ठकला क्षेत्रमा कच्चापदार्थको आपूर्ति सहज भई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता बढ्ने विश्वास महासङ्घले लिएको छ ।
यसैगरी, कम्पनी बन्द गर्ने प्रक्रिया सहज बनाउने, बौद्धिक सम्पत्तिसम्बन्धी कानुन तर्जुमा गर्ने र निर्यातमा दिइँदै आएको नगद प्रोत्साहनलाई निरन्तरता दिनेजस्ता घोषणाले उद्योगीमा उत्साह थपेको महासङ्घले जनाएको छ । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई अगाडि बढाउन बजेट सहयोगी हुने देखिएको छ । महासङ्घले नेपाल व्यापार एकीकृत रणनीतिको दायरा फराकिलो बनाउँदा हस्तकलाका ३६ विधा र झण्डै ८३ प्रकारका वस्तुलाई स्पष्ट रूपमा नसमेटिएको बताएको छ ।
यसैगरी, हस्तकलाको सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने ठोस योजना, प्राकृतिक रेसाजन्य कपडा उद्योगका लागि विशेष नीति र उत्पादन क्षेत्रका लागि स्पष्ट रणनीतिको अभाव देखिएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्