Skip to content

व्यापार घाटा न्यूनीकरणका लागि उत्पादनमुखी निर्यात नीतिको अपरिहार्यता (विचार)

nabil bank
रामसूदन तिमल्सिना

नेपालको वैदेशिक व्यापारको क्षेत्रमा पछिल्लो १० महिना (२०८२ साउनदेखि २०८३ बैशाख) को तथ्याङ्कले सतहमा हेर्दा सकारात्मक दृश्य देखाउँछ ।

कुल निकासी (निर्यात) मा १४.२५ प्रतिशतको वृद्धि भई २४८ अर्ब ९६ करोड रुपैयाँ पुग्नुलाई निराशाजनक अर्थतन्त्रका बीच एउटा सुखद सूचक मान्न सकिन्छ । तर, यस वृद्धिको गहिराइ र अवयवहरूलाई केलाउँदा यसले उत्साहभन्दा बढी संरचनात्मक जोखिम र नीतिगत कमजोरीहरूलाई उजागर गर्दछ ।

देशको आयात झन्डै १५ प्रतिशतले बढेर १६९२ अर्ब पुग्दा व्यापार घाटा १४४३ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । निकासी र आयातको यो विशाल खाडल (१:६.८० को अनुपात) ले नेपालको निर्यात वृद्धि केवल एक भ्रम वा प्राविधिक समायोजन मात्र हो कि भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।

नेपालको निर्यातको फाउन्डेसन कति कमजोर र परनिर्भर छ भन्ने कुरा कुल निर्यातमा वस्तुहरूको हिस्सा हेर्दा स्प्रष्ट हुन्छ । कुल निर्यातको झन्डै ४१ प्रतिशत हिस्सा केवल एउटै वस्तु—सोयाबीन तेल १०१ अर्ब २७ करोड रुपैयाँले ओगटेको छ । पाम तेलको निर्यात पनि २४२ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

यी तथ्याङ्कहरू प्राविधिक रूपमा नेपालको निर्यात खातामा जोडिए तापनि वास्तविक अर्थतन्त्रमा यसको योगदान न्यूनतम छ । ब्राजिल, अर्जेन्टिना, मलेसिया जस्ता देशहरूबाट कच्चा तेल आयात गरी नेपालमा न्यून स्तरको प्रशोधन (भ्यालु एडिसन) मार्फत भारततर्फ निकासी गरिँदै आएको छ ।

यसलाई मुल्य अभिबृद्धिको संकट भन्न सकिन्छ । भारतको भन्सार नीति वा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको नियमावलीमा आउने थोरै परिवर्तनले पनि यो अर्बौँको व्यापार जुनसुकै बेला झर्न सक्छ । विगतमा वनस्पति घ्यू र जिंक अक्साइडको निर्यातमा देखिएको ह्रास यसको ज्वलन्त उदाहरण हो ।

विगतका वर्षहरूमा नेपालले फलाम, स्टील, सिमेन्ट र प्लाईवुड जस्ता वास्तविक आत्मनिर्भर र उच्च मूल्य अभिवृद्धि हुने वस्तुहरूको निर्यातमा ठूलो आशा देखाएको थियो । तर समीक्षा अवधिमा फलाम र स्टीलको निर्यातमा ७५.४५ प्रतिशतको भयानक गिरावट आएको छ । त्यस्तै, तीव्र बजार विस्तार गरिरहेको प्लाईवुड उद्योगमा पनि २७.६० प्रतिशतको ह्रास देखिएको छ ।

यस गिरावटको पछाडि विविध कारणकासाथै गैर भन्सार अवरोधहरु पर्दछन् । भारत सरकारले लागू गर्ने गैर–भन्सार अवरोध, गुणस्तर प्रमाणीकरणमा ढिलाइ र नेपालभित्रको उच्च उत्पादन लागत (बिजुलीको महँगो दर, ढुवानी भाडा र नीतिगत अस्थिरता) यसका प्रमुख कारण हुन् । साथै नेपालबाट कच्चा पदार्थ सहज रुपमा बाहिर जान सक्ने र बाहिरबाट आउने कतिपय अवस्थामा कच्चा पदार्थको समेत भ्याट लाग्ने र निर्यातकर्ताले त्यो भ्याट रिफन्ट पाउन समेत नसक्ने अवस्था पनि रहेको छ ।

नेपालको निर्यात स्वदेशी कच्चा पदार्थ र श्रममा आधारित नभई अन्तर्राष्ट्रिय करका दरहरूको अन्तरमा टिकेको देखिन्छ । फलाम र स्टील जस्ता वास्तविक उत्पादनमूलक उद्योगको गिरावटले देशको जगमगाउँदो औद्योगिक आधारलाई प्रतिविम्बित गरिरहेकाले सरकारले विशेष ध्यान दिनै पर्छ ।

भू–राजनीतिक व्यापार असन्तुलन: चीनतर्फको निर्यात शून्यप्राय:

देशगत आधारमा नेपालको व्यापार असन्तुलन झन् डरलाग्दो बन्दै गएको छ । कुल निर्यातमा भारतको हिस्सा बढेर ८२.०९ प्रतिशत पुग्नुले नेपालको एकाधिकार बजार निर्भरतालाई स्पष्ट पार्छ । यसको विपरीत, उत्तरी छिमेकी चीनतर्फको निर्यातमा ४१.७१ प्रतिशतको ठूलो गिरावट आएको छ, । कुल निर्यातमा चीनको हिस्सा मात्र ०.५६ प्रतिशत (१ अर्ब ३९ करोड रुपैयाँ) मा खुम्चिएको छ ।

नेपालले चीनबाट खर्बौँको सामग्री आयात गर्दा निर्यात भने लगभग ठप्प हुनुले हिमालयपार व्यापार रणनीति असफल भएको पुष्टि गर्छ । नाकाहरूमा हुने प्राविधिक अवरोध, भाषागत समस्या, चिनियाँ क्वारेन्टाइनका कडा मापदण्डहरूका कारण नेपाली उत्पादनहरू चिनियाँ बजारमा पुग्न गाह्रो परेको देखिन्छ । त्यसका साथै चिनमा पछिल्लो समय सर्वाधिक व्यवसायी एक्स्पो भइरहेको हुन्छ ।

त्यसमा नेपाली उद्यमीहरुलाई सहभागि गराउनका लागि सरकारले रणनीतिक साझेदारी गर्नेलगायतका उपायहरुलाई पनि अवलम्बन गर्न सकेको देखिन्छ । व्यपार र निकासी प्रवद्र्धन गर्ने निकायहरुले प्रभावकारी कार्य गर्न नसक्दा पनि निर्यातमा नेपालको अवस्था सोचजस्तो बृद्धि हुन सकेको छैन ।

सम्भावना हुँदा हुँदै पनि नेपाल पछाडि परेको हो । विश्व बैंकले गरेको एक सर्वे अनुसार नेपालले बार्षिक कबिर १२ खर्ब रुपैयाँ बढिको निर्यात गर्न सक्ने सम्भावना छ । अहिले सम्भावनाको २२ प्रतिशत जतिमात्र निर्यात गर्न सफल छौं । त्यसमा पनि पाम तेलको हिंस्सा घटाउने हो भने झन कम हुन्छ ।

उज्यालो पाटो: कृषिजन्य र मौलिक उत्पादनको उदय

यस प्रतिकूलताका बीच कृषिजन्य वस्तुहरूको प्रदर्शन भने उत्साहजनक छ । अलैंची निर्यातमा ७१.२२ प्रतिशत र अदुवा निर्यातमा १०७.१५ प्रतिशतको उच्च वृद्धि हुनुले नेपालका मौलिक र जैविक उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा बलियो सम्भावना रहेको प्रमाणित गर्छ । त्यस्तै तेस्रो मुलुकतर्फ ऊनी गलैंचा, फेल्टका सामान र तयारी पोशाकको निर्यातमा ९.४८ प्रतिशतको वृद्धि हुनुले नेपाली हस्तकलाको साख जोगाएको छ ।

निर्यात वृद्धिका लागि व्यावहारिक उपाय के हुन सक्छ ?

नेपालको व्यापार घाटा कम गर्दै दिगो र वास्तविक निर्यात वृद्धिका लागि अब टालटुले नीतिले पुग्दैन । यसमा सरकार र अर्थ मन्त्रालय पनि संवेदनशिल छ भन्ने लाग्छ । यसका लागि निम्नानुसारका अल्पकालीन तथा दीर्घकालीन रणनीतिक कदमहरू चाल्न सकिन्छ । कतिपय विषयहरु त आ.व २०८३/०८४ को बजेटले पनि सम्बोधन गरेको छ । संबोधन भएका विषयलाई कार्यन्वयन गर्ने र नीतिगत रुपमा अगाडि बढ्नुपर्ने विषयमा सरकारले निर्यातमैत्री वातावरण निर्माणमा सक्रियता देखाउँदै स्वदेशी उत्पादन र उत्पादकत्व बृद्धिमा प्रभावकारी कदम चाल्नुपर्छ ।

कच्चा पदार्थ नै निर्यात गर्नुको साटो मूल्य अभिवृद्धिमा जोड दिएर निर्यात गर्न सकेको खण्डमा प्रभावकारी हुने देखिन्छ । यसका लागि आजको भोली हुँदैन । राज्यको विशेष सहयोगको आवश्यकता रहन्छ ।

अलैंची, अदुवा, चिया र कफी जस्ता कृषिजन्य वस्तुहरूलाई कच्चा रूपमै भारत पठाउनुको साटो नेपालमै प्रशोधन, ग्रेडिङ, लेबलिङ र ब्रान्डिङ गर्ने उद्योगहरूलाई विशेष अनुदान वा सहुलित ऋण कर छुट जस्ता कार्य गर्न सकिन्छ ।

सोयाबीन वा पाम तेल जस्ता आयातित कच्चा पदार्थमा आधारित उद्योगहरूलाई निरुत्साहित गरी कम्तीमा ३० प्रतिशत स्थानीय मूल्य अभिवृद्धि अनिवार्य गरिनुपर्छ ।

नेपाली उत्पादन महँगो हुनुको मुख्य कारण उच्च ऊर्जा र ढुवानी लागत हो । निर्यातमुखी उद्योगहरूका लागि बिजुली महसुलमा उद्योगको प्रकृति हेरी सहुलियत दिने र ढुवानी लगात कम गर्ने उपायहरुको खोजी गर्नुपर्दछ । लजिस्टिक लागत घटाउन प्रमुख व्यापारिक मार्गहरूमा ’ड्राइ पोर्ट’ र शीत भण्डारको सञ्जाल विस्तार गर्न र उपलब्ध गराउन सकिन्छ ।

भारत र चीनसँगको व्यापारिक समस्या हल गर्न ’आर्थिक कूटनीति’लाई प्राथमिकता दिनुपर्छ । नेपालका प्रयोगशालाहरूको गुणस्तर प्रमाणपत्रलाई भारतीय र चिनियाँ समकक्षी एजेन्सीहरूले मान्यता दिने गरी दुईपक्षीय सम्झौता गर्नुका साथै भारत र चिनबाट प्रयोगशालाको क्षमताबृद्धिका लागि प्राविधिक, भौतिक सहयोग समेत लिएर क्षमताबृद्धि गर्नुपर्ने देखिन्छ । जसले उनीहरुमा विश्वास समेत सिर्जना हुन्छ ।

चीनको ’शून्य भन्सार नीति’ को वास्तविक लाभ लिन नेपाली वस्तुहरूको सूची चिनियाँ मापदण्ड अनुकूल बनाउन बेइजिङस्थित दूतावासलाई सक्रिय बनाउनुपर्छ । पछिल्लो समय दुतावासले नेपाल चीन व्यवसाय फोरमको समेत आयोजना गर्न लागेको विषय सकारात्मक छ । यसलाई निरन्तरता दिनुपर्छ ।

नेपाल व्यापार एकीकृत रणनीतिमा समावेश वस्तुहरूको परिमार्जन गरी हाल सम्भावना देखिएका सूचना प्रविधि, तयारी खाद्य वस्तु, पेय पदार्थ लगायतलाई उच्च प्राथमिकताको सूचीमा राखी विशेष प्रोत्साहन प्याकेज ल्याउनुपर्छ ।

वस्तु निर्यातको भौतिक सीमा र भौगोलिक चुनौतीलाई तोड्न सफ्टवेयर, डिजिटल सेवा र फ्रिल्यान्सिङको निर्यातलाई औपचारिक माध्यममा ल्याई विदेशी मुद्रा भित्र्याउने प्रक्रिया सहज बनाउनुपर्छ । सजिलो भुक्तानी गेटवेको व्यवस्था गर्नुपर्छ ।

नेपालको निर्यात व्यापार हाल एक गम्भीर दोबाटोमा उभिएको छ । कतिपय सीमित वस्तु र बजारमा देखिएको अस्वाभाविक वृद्धिमा रमाएर बस्ने समय यो होइन । निर्यातको वर्तमान संख्यात्मक वृद्धिलाई संरचनात्मक रूपान्तरणमा बदल्न स्वदेशी कच्चा पदार्थ, प्रविधि र श्रममा आधारित उद्योगहरूको विकास अनिवार्य छ । राज्यले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि ठोस नीति, सुदृढ पूर्वाधार र दह्रो राजनीतिक इच्छाशक्ति नदेखाएसम्म नेपालको व्यापार घाटाको दुष्चक्र थप गहिरिँदै छ ।

त्यसका लागि अहिलेको बजेटले केहि हदसम्म सम्बोधन गर्ने प्रयास गरेको छ । त्यसको कार्यन्वयन पक्षले प्रभाव पार्दछ । त्यसमा सरकारको विशेष ध्यान जान जरुरी छ । साथै निर्यात नीति ल्याउने विषयमा पनि सरकारको विशेष ध्यान जाओस् । निर्यात प्रवद्र्धन कोष स्थापना गरी त्यसलाई प्रभावकारी परिचालन गर्ने नीति सरकारले लिएर अबको ५ बर्षलाई निर्यात बर्षका रुपमा प्राथमिकता दिएर अगाडि बढ्न सक्दा हामीले ठूलो फड्को मार्न सक्छौं ।

रामसूदन तिमल्सिना निर्यात व्यवसायी महासंघका कार्यकारी निर्देशक हुन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi