Skip to content

म्याजिक ब्रान्डको जुत्ताचप्पल उत्पादन गर्ने जयश्री पीयुको व्यापार १ अर्ब ३५ करोड, कुन वर्ष कति? 

nabil bank
काठमाडौं । म्याजिक ब्रान्डका जुत्ता–चप्पल उत्पादन तथा बिक्री गर्दै आएको जयश्री पीयु टेक कम्पनीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै १ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको छ। भारततर्फ निर्यात विस्तार भएपछि कम्पनीको व्यापार र वित्तीय अवस्था उल्लेखनीय सुधार आएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले सन् २०२५ मा १ अर्ब २६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । जुन सन् २०२४ को ७६ करोड २० लाख रुपैयाँको तुलनामा ६६ प्रतिशत बढी हो। कम्पनीका अनुसार भारतमा जुत्ता–चप्पल निर्यात बढेकाले कारोबारमा उल्लेखनीय वृद्धि भएको हो। चालु आवको ९ महिनाको अवधिमा भएको कुल कारोबारमध्ये ७२ प्रतिशत हिस्सा निर्यातबाट आएको कम्पनीले जनाएको छ ।
कम्पनीले ४ फेब्रुअरी २०२५ मा भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स प्रमाणपत्र प्राप्त गरेपछि भारतीय बजारमा निर्यात सुरु गरेको थियो। उक्त प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीले भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको छ ।
भारतमा बजार विस्तारका लागि कम्पनीले रेड टेप, ट्रेन्ट लिमिटेड, वीकेसी फुटगियर, खदिम, लाइफस्टाइल इन्टरनेसनल, बोन्कर्ज तथा आदित्य बिर्ला फेसन एन्ड रिटेल लिमिटेडजस्ता प्रतिष्ठित भारतीय ब्रान्डहरूसँग सहकार्य अघि बढाएको छ। कम्पनीका अनुसार यी रणनीतिक साझेदारीहरूले बजार पहुँच विस्तार, आम्दानीका स्रोत विविधीकरण तथा दीर्घकालीन राजस्व वृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीको निर्यात बढ्दा वित्तीय सूचकहरूमा समेत सुधार देखिएको छ। चालु आवको ९ महिनामा कम्पनीको नाफा मार्जिन १२.४३ प्रतिशत पुगेको छ। कम्पनीले गत वर्ष ६ करोड १० लाख रुपैयाँ कुल नगद सञ्चय (ग्रस क्यास एक्रुअल) गरेको थियो, जुन अघिल्लो वर्षको ४ करोड ४० लाख रुपैयाँभन्दा बढी हो। चालु आवको नौ महिनामै कुल नगद सञ्चय ११ करोड ३० लाख रुपैयाँ पुगेको छ।
यसैगरी, कम्पनीको ऋण व्यवस्थापन क्षमता पनि सुधारिएको छ। समग्र गियरिङ अनुपात १.५५ गुणाबाट घटेर १.३३ गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता मापन गर्ने इन्टरेस्ट कभरेज रेसियो २.३५ गुणाबाट बढेर ४.९५ गुणा पुगेको छ। कुल ऋण–नगद सञ्चय अनुपात पनि १२.४६ गुणाबाट घटेर ५.१८ गुणामा झरेको छ।
यद्यपि कम्पनीले केही चुनौतीहरू पनि सामना गरिरहेको छ। जुत्ता उत्पादनमा प्रयोग हुने पोलियुरेथेन, ल्यामिनेटेड फेब्रिक र रेक्सिनजस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले नाफा मार्जिनमा असर पार्न सक्छ। साथै भारत बाहेकका देशबाट हुने आयात अमेरिकी डलरमा हुने भएकाले विदेशी विनिमय दरको जोखिम पनि कम्पनीमा रहेको छ। कम्पनीले हालसम्म यस्ता जोखिम न्यूनीकरणका लागि हेजिङ व्यवस्था अपनाएको छैन।
सन् २००९ मा स्थापना भएको कम्पनीले वार्षिक ९ लाख जोडी जुत्ता–चप्पल उत्पादन क्षमता राखेको छ। कम्पनीले हाल एक अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसअन्तर्गत २९ करोड ८९ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा ७० करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जाको रेटिङ समावेश छ।
कम्पनीको व्यवस्थापन अनुज पोदार र राजेशकुमार अग्रवालले सम्हालिरहेका छन्। भारतीय बजारमा बढ्दो उपस्थितिसँगै कम्पनीले आगामी वर्षहरूमा निर्यात र कारोबार दुवै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi