काठमाडौं । सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेट हावा भरेको बेलुन जस्तो भएको र यो धेरै नटिक्ने, कार्यान्वयन नहुने दाबी गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा उनले सरकारले ल्याएको बजेटले नेपालका कति प्रतिशत जनसंख्या खुसी भएको ? भन्दै प्रश्न गरे । अहिले डरका कारण व्यापारी, उद्योगी व्यवसायीले लगानी गर्ने वातावरण देशमा नभएको उनको भनाइ छ । डरले राज्य चले पनि उद्योग व्यवसायी नचल्ने उनको दाबी छ ।
संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिक अधिकार भनेपनि यो सरकारले मौलिक अधिकारमा कर लगाएको उनको दाबी छ । यो गलत भएको सांसद सिंहले बताए ।
निजी विद्यालयमा कर लगाएर विद्यार्थीलाई करको बोझ बढाउनु भन्दा सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने उनको सुझाव छ । “खेतमा किसान ५ रुपैयाँमा तरकारी बेच्छ, उपभोक्ता ५० तिर्छन” उनले प्रश्न गरे “उपभोक्ताले कसरी ३० रुपैयाँ पाउने भन्ने नीति खै ?”
बजेटमा युवालाई रोजगारी दिने नीति नभएको, गरिबलाई केही नभएको उनले बताए । बजेटबाट कर्मचारीको तलब २१ प्रतिशत बढेपछि जनताले के पाएको भन्दै प्रश्न गरे ।












प्रतिक्रिया दिनुहोस्