काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका निम्ति छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताएका छन् ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए ।
उनले संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गरे । सार्वभौम संसद्को अवमूल्यन गर्न नपाइनेमा उनको जोड थियो ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सातवटा करका दरहरू हेरफेर गरेँ भनेर खुल्लमखुल्ला स्वीकारेको उनको भनाइ छ । यो आर्थिक अपराध भएका उनले बताए ।
“हामीले त्यहाँ ‘अपराध गर्नुभयो’ भनेका थिएनौँ, जिज्ञासा मात्र राखेका थियौँ। तर उहाँले त धम्की दिँदै ‘यो मैले गरेकै हुँ, के गर्छौ ? भन्नुभयो । यसले संसद्को मानहानी भएको छ । सभामुखबाट यसमा रुलिङ हुनुपर्छ, छानबिन गरिनुपर्छ” उनले भने “यस प्रकारको अपराध गर्न पाइँदैन । उहाँले यही रोस्ट्रमबाट खुल्लमखुल्ला स्वीकार्नुभएको रेकर्ड छ ।”
उनले पुरानाले गरे, पोहोरसाल ७३ वटा हेरफेर गरे, मैले अहिले जम्मा ७ वटा गरे गरेको स्मरण गरे । “७३ वटा होस् या एउटा होस्, अपराध भनेको अपराध हो। दुई वर्षअगाडि मैले नै बजेट ल्याएको थिएँ । म पनि पुरानो हुँ ।”












प्रतिक्रिया दिनुहोस्