Skip to content

मधेस प्रदेशले ‘मधेश स्टार्ट-अप फन्ड’ तथा ‘नवप्रवर्तन मधेश फन्ड स्थापना गर्ने

काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा स्वदेशी कच्चा पदार्थमा आधारित नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न युवाहरूमा रहेको नवीन सोचलाई समेट्दै ‘मधेश स्टार्ट-अप फन्ड’ तथा ‘नवप्रवर्तन मधेश फन्ड स्थापना गरिने जनाएको छ ।

आज प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै फन्डमार्फत उत्कृष्ट व्यावसायिक योजना भएका नव उद्यमी तथा युवाहरूलाई बिना धितो सहुलियतपूर्ण ब्याजदरमा कर्जा, मेन्टरसिप र व्यवसाय सञ्चालनका लागि बीउ पुँजीका साथै प्रविधि हस्तान्तरण उपलब्ध गराइने उल्लेख छ ।

यस्तै “आफ्नै प्रदेश, आफ्नै रोजगारी” नारालाई व्यवहारमा उतार्न एक हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योगहरूलाई प्रदेश करमा छुट तथा ‘रोजगारदाता सम्मान’ प्रदान गरिनेछ। बजारको माग अनुरूप महिला तथा युवा लक्षित ई-कमर्स र अनलाइन मार्केटिङ तालिम सञ्चालन गरी कम्तीमा एक हजार नयाँ डिजिटल उद्यमी तयार गर्न विशेष तालिम कार्यक्रमका लागि पर्याप्त रकम छुट्टयाइएको छ ।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रदेशमा आकर्षित गर्न विद्यमान लगानी सम्बन्धी कानुनमा आवश्यक संशोधन गरिने उल्लेख छ । प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगी व्यवसायीहरूलाई एउटै छानामुनिबाट सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ‘एकद्वार सेवा प्रणाली’ सञ्चालनमा ल्याइनेछ । यसै एकद्वार प्रणालीमार्फत एकै दिनमा उद्योग दर्ता र फर्म दर्ता गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T