काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले भारत स्थित ग्लोबल इन्भेस्टमेन्ट एण्ड ट्रेड एडभाइजर्स (गीता) संग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यस समझदारीले नेपाल र भारतबीच व्यापार, लगानी, संस्थागत साझेदारी तथा आर्थिक सहकार्य प्रवद्र्धन गर्न रणनीतिक सहकार्यको स्वरुप निर्माण गरेको छ ।
यो साझेदारीले सीमा–पार व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको आदान–प्रदानलाई सहज बनाउने, तथा दुवै देशका लगानीकर्ता र उद्यमीहरूका लागि नयांं अवसरहरू सिर्जना गर्ने साझा प्रतिबद्धतालाई झल्काउदछ ।
सम्झौताअनुसार निक्की र गीताले व्यापारिक प्रतिनिधिमण्डलहरुको आदानप्रदान, लगानी प्रवद्र्धन कार्यक्रम, क्षेत्रगत अन्तरक्रिया, नीतिगत संवाद, रोडशो तथा सरोकारवालाहरुसंग परामर्श लगायतका विभिन्न पहलहरूमा संयुक्त रूपमा कार्य गर्नेछन् ।
यस सहकार्यको उद्देश्य व्यवसायी, लगानीकर्ता, उद्योग वाणिज्य संघहरू, औद्योगिक निकायहरू, सरकारी निकायहरू तथा विकास साझेदार संस्थाहरूबीच संरचित सहकार्यलाई प्रवद्र्धन गर्नुका साथै प्रमुख क्षेत्रहरूमा उदाउदै गरेका आर्थिक अवसरहरूमा थप सहभागिता सुनिश्चित गर्नु रहेको छ ।
समझदारीपत्रमा निक्कीका निर्देशक मार्शल राठौर तथा गीताका प्रबन्ध साझेदार प्रिया रावतले हस्ताक्षर गरे । उक्त अवसरमा दुवै संस्थाका प्रतिनिधिहरूले भारत–नेपाल आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन संस्थागत सहकार्यको महत्वपूर्ण भूमिका रहने बारे जोड दिए।
दुई संस्थाहरुबीचको यो समझदारीले आगामी दिनहरुमा द्विपक्षीय व्यापार तथा लगानी प्रवाह अभिवृद्धि गर्न, व्यापारिक साझेदारीलाई प्रवद्र्धन गर्न तथा दुई छिमेकी राष्ट्रबीच आर्थिक सहकार्यका लागि अझ गतिशील र प्रभावकारी वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्