काठमाडौं । ईसेवा मनि ट्रान्सफरले गत आर्थिक वर्षको पहिलो १० महिनामा १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२५ मा २० करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा २१ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा २३ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा २३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीका अनुसार सन् २०२१ देखि २०२५ सम्म समग्र आम्दानीमा ४५ प्रतिशत वृद्धि भएको छ।
कम्पनीको सञ्चालन दक्षतामा भने सुधार देखिएको छ। सन् २०२२ मा २४.३५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा १७.८९ प्रतिशतमा झरेको भए पनि गत आवको १० महिनामा यो २०.७६ प्रतिशत पुगेको छ। त्यस्तै, सन् २०२५ मा ५.३८ प्रतिशत रहेको खुद नाफा मार्जिन बढेर समीक्षा अवधिमा ७.४१ प्रतिशत पुगेको छ।
यस अवधिमा कम्पनीको कर्जा बढेर २४ करोड ४० लाख रुपैयाँ पुगेको छ। गियरिङ अनुपात सन् २०२५ मा ०.०७ गुणा रहेकामा समीक्षा अवधिमा १.१६ गुणा पुगेको छ। यद्यपि, कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात २.९१ गुणामा स्थिर रहेको छ, जुन सन् २०२५ मा २.९५ गुणा थियो।
कम्पनीको ब्याज कभरेज अनुपात पनि सुधारिएको छ। समीक्षा अवधिमा यो २.०५ गुणा पुगेको छ, जबकि सन् २०२५ मा १.८१ गुणा थियो। त्यसैगरी, सन् २०२५ मा ऋण सेवा कभरेज अनुपात १.८५ गुणा रहेको कम्पनीले जनाएको छ।
यस कम्पनीले ७० करोड रुपैयाँको अल्पकालीन कर्जाको रेटिङ गराएको छ। सन् २०१९ मा स्थापना भएको ईसेवा मनि ट्रान्सफर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। कम्पनीले विश्वभरका ६० अन्तर्राष्ट्रिय मनि ट्रान्सफर अपरेटरसँग सहकार्य गर्दै रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।
हाल कम्पनीसँग देशभर १३ हजार ८ सयभन्दा बढी पे–आउट लोकेसन तथा ४ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्था एवं व्यक्तिगत एजेन्टको सञ्जाल रहेको छ। कम्पनीमा एफवान सफ्ट इन्टरनेशनल प्रालिको ७५ प्रतिशत स्वामित्व रहेको छ।
प्रतिक्रिया दिनुहोस्