काठमाडौं । अब ३० लाख रुपैयाँ धरौटी राख्न नसक्ने अमेरिका जान नपाउने भएका छन् ।
अमेरिकाले नेपालसहित ५० देशका नागरिकहरुका लागि ‘भिसा बन्ड’ (धरौटी) राख्नुपर्ने कार्यक्रम पूर्ण रुपमा लागू गर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ५० देशबाट अमेरिका जानेले अधिकतम २० हजार अमेरिकी डलर अर्थात करिब ३० लाख रुपैयाँ धरौट राख्नुपर्ने छ ।
अमेरिकाको यो नीति नेपालका साथै बंगलादेश, भुटान, कम्बोडिया, किर्गिज गणतन्त्र, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान, अल्जेरिया, अंगोला, बेनिन, बोत्सवाना, बुरुन्डी, काबो भर्डे, नाइजेरिया, तान्जानिया, भेनेजुएला, पापुआ न्यू गिनी लगायत देशमा लागू हुने जनाइएको छ ।
फेडेरल रजिस्टरका अनुसार व्यापार (बी१) र भ्रमण तथा पर्यटन (बी२) भिसा आवेदन दिने व्यक्तिहरुका लागि लागू हुनेछ ।
जारी सूचना अनुसार भिषा जारी गर्ने अधिकृतहरुले तोकिएका गैरआप्रवासी भिसा आवेदकहरुबाट कन्सुलर अधिकृतको निर्णय अनुसार अधिकतम २० हजार डलरसम्म धरौटी माग गर्न सक्ने उल्लेख छ ।
अमेरिकाले सन् २०२५ मा यो भिसा बन्ड कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा एक वर्षका लागि लागू गरेको थियो ।
अब त्यसलाई निरन्तरता दिने भएको छ ।
यसअघि कन्सुलर अधिकृतहरुले ५ हजार, १० हजार वा १५ हजार डलरसम्म धरौटी माग गर्न सक्थे । अब सन् २०२६ को अगस्ट ३ देखि ५ हजार डलरको विकल्प हटाएर अधिकतम सीमा बढाएर २० हजार डलर पुर्याएको छ।
अमेरिकाका अनुसार यात्रुले आफ्नो भिसाको म्याद नसकिँदै अमेरिकाबाट बाहिरिएमा वा कुनै कारणवश भिसा लागेन भने धरौटी रकम फिर्ता हुनेछ ।
कारणवश अमेरिकामा ओभरस्टे गरेमा त्यस्तो रकम फिर्ता हुनेछैन ।







प्रतिक्रिया दिनुहोस्