Skip to content

एनआरएन नेपाल डेभलपमेन्ट फन्डले विदेशी मुद्रामा आईपीओ जारी गर्न पाउने

काठमाडौं । गैरआवासीय नेपालीहरूको लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई अब विदेशी मुद्रामा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कानुनी बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार धितोपत्र निष्कासनसम्बन्धी नियमावली संशोधन गर्दै फन्डलाई विदेशी मुद्रामा लगानी भित्र्याउने तथा त्यही मुद्रामा प्रतिफल र लाभांश फिर्ता लैजान सक्ने व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार फन्डले आफ्नो कुल पुँजीको ८५ प्रतिशत अर्थात् करिब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विदेशी मुद्रामा निष्कासन गर्न सक्नेछ। यसबाट विदेशमा रहेका नेपालीलाई विदेशी मुद्रामै लगानी गर्ने अवसर उपलब्ध हुने भएको छ।

फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईका अनुसार नियमावली संशोधनसँगै लामो समयदेखि रोकिएको आईपीओ निष्कासन प्रक्रिया अब अघि बढाउन सकिने भएको छ।

यसअघि धितोपत्रसम्बन्धी कानुनी व्यवस्थामा विदेशी मुद्रामा आईपीओ निष्कासनको स्पष्ट प्रावधान नहुँदा फन्डको योजना अघि बढ्न सकेको थिएन। सेबोनले नियमावली संशोधन गरेपछि भने गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा लगानी जुटाउने र त्यसबाट प्राप्त प्रतिफल पुनः सोही मुद्रामा फिर्ता लैजाने व्यवस्था कार्यान्वयनमा आउने भएको छ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि एनआरएन नेपाल डेभलपमेन्ट फन्डको आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T