काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालतर्फका छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिक ठूलो अवरोध ताल बनेको जनाएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने पानी ओभरफ्लो हुन थालेको छ।
मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा प्रवेश गर्ने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै गएपछि तालको बाँध फुट्ने जोखिम उच्च रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ। बुधबार आएको बाढीपछि नै चिनियाँ पक्षले सीमावर्ती क्षेत्रमा ड्रोनमार्फत निगरानी बढाएको जनाइएको छ।
सम्भावित रूपमा तालको बाँध फुटेपछि आउन सक्ने बाढीको प्रभावबारे आकलन गर्न बाढी सिमुलेसन तथा जोखिम विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनले उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि समेत तयारी गरिरहेको बताइएको छ।
बुधबार नेपाल–चीन सीमाक्षेत्रबाट सुरु भएको बाढी तथा पहिरोले नेपालका रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरिसकेको छ। बाढीको प्रभाव चीनको तिब्बततर्फ पनि परेको जनाइएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार बिहीबार बिहानसम्म चीनतर्फ घटनामा तीन जनाको मृत्यु पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको छ। २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको जनाइएको छ।
नेपालतर्फ पनि बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सम्भावित रूपमा ताल फुटेमा सीमावर्ती क्षेत्रका साथै तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ।






प्रतिक्रिया दिनुहोस्