Skip to content

बाढीपीडितका लागि वनस्पति घ्यू–तेल उत्पादक संघले १ करोड १ लाख रुपैयाँ सहयोग गर्यो

काठमाडौं । चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीसहितका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले दुःख व्यक्त गर्दै राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

संघले बाढीका कारण ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै घाइते भएको र घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको जनाएको छ।

पीडित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारले यथाशीघ्र प्रभावकारी कदम चाल्नुपर्ने संघको भनाइ छ। प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना तथा पूर्वाधार निर्माणमा समेत विशेष ध्यान दिनुपर्ने संघले जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संघ तथा सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हो। सोहीअनुसार संघका अध्यक्ष विकास दुगडले संघका अन्य सदस्यहरूसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

संघले विपद्को यस संवेदनशील समयमा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाका साथ सहयोग गर्नुपर्नेमा जोड दिएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता संघले व्यक्त गरेको छ।

प्रभावित नागरिक तथा क्षेत्रको पुनःस्थापना र पूर्वाधार निर्माणलाई गति दिन सरकारसहित सबै सम्बन्धित पक्षको संवेदनशीलता, सक्रिय पहल र सहयोग आवश्यक रहेको संघको धारणा छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T