काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक्स र नेपाल डिस्टिलरीजलगायत संस्थाबाट उक्त सहयोग रकम प्रदान गरिएको हो ।
बुधबार होल्डिङ्सका सह–अध्यक्ष एवं नर्भिककी निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै चौधरीले विपद्को समयमा सरकारमार्फत सञ्चालन हुने राहत तथा पुनर्निर्माणका कार्यमा सहजीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् ।
उनले सहयोग रकम बाढी प्रभावित परिवारको राहत, पुनर्वास तथा पुनर्निर्माणमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् । साथै, विपद्को यस कठिन परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् ।
यसैबीच, बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आबद्ध संस्थाहरूबाट कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्