काठमाडौं । म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराएको छ ।
एसआइसी म्याक्सस चीनको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले प्रभावित समुदायलाई प्रत्यक्ष आर्थिक सहयोगका साथै स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक राहत सामग्री उपलब्ध गराएको हो ।
म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक केही दिनअघि अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको जनाएको छ। त्यस्तै, नुवाकोटको त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग प्रदान गरिएको छ ।
सहयोगअन्तर्गत दुईवटा अस्थायी आश्रयस्थलमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। साथै, करिब ४०० जनालाई आवश्यक पर्ने राहत सामग्री वितरण गरिएको छ ।
नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा एउटा पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। उक्त विद्यालयमा हाल करिब ३०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। अर्को प्रणाली नुवाकोटकै विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको छ, जहाँ करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।
प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्दछ। यसबाट अस्थायी आश्रयस्थलमा बसिरहेका परिवारलाई त्यहाँ रहुञ्जेल सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्नेछ। विद्यालय पुनः सञ्चालनमा आएपछि विद्यार्थीहरूले समेत यसको लाभ लिन सक्नेछन् ।
राहत सामग्रीअन्तर्गत सुत्नका लागि आवश्यक डसना, सिरानी र तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री र भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि कपडालगायत दैनिक जीवनमा आवश्यक अन्य सामग्री वितरण गरिएको छ ।
राहत वितरण तथा पानी शुद्धीकरण प्रणाली जडान कार्यमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रमुख गभर्नर रामराजा थापालगायत डिस्ट्रिक्टका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
म्याक्सस नेपालले उक्त राहत तथा सहयोग कार्यक्रम आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्