काठमाडौं । नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो लाइनअपमा नयाँ मोडेल थप्न लागेको छ ।
कम्पनीले हालसम्म नेपाली बजारमा आयोन वाई र आयोन भी बिक्री गर्दै आएको छ, जसमध्ये आयोन भी ले ग्राहकबाट उल्लेख्य रुचि र माया पाएको छ । अब उही ब्राण्डको नयाँ इलेक्ट्रिक ह्याचब्याक आयोन युटी नेपाल भित्रिँदैछ ।
आयोन युटी त्यही मोडेल हो, जसले भर्खरै युरोपियन न्यू कार एसेसमेन्ट प्रोग्राम (युरो एनक्याप) को क्र्यास टेस्टमा ५ स्टार सुरक्षा रेटिङ हासिल गरेको छ । सेप्टेम्बर ३ मा सार्वजनिक भएको रिपोर्ट अनुसार युटीले दुर्घटना सुरक्षामा ९१ प्रतिशत, दुर्घटनापछिको सुरक्षामा ८८ प्रतिशत, दुर्घटना रोकथाममा ७४ प्रतिशत र सुरक्षित ड्राइभिङमा ६६ प्रतिशत अंक प्राप्त गरेको छ ।
युरोपजस्तो कडा सुरक्षा मापदण्ड भएको बजारमा पाएको यो नतिजाले युटीको गुणस्तर पुष्टि गरेको छ ।
आयोन भीकै एईपी ३.० प्लेटफर्ममा बनेको युटी ४,२७० मिलिमिटर लामो, १,८५० मिलिमिटर चौडा र १,५७५ मिलिमिटर अग्लो छ । २,७५० मिलिमिटरको लामो ह्वीलबेसका कारण ह्याचब्याक आकारमै एसयूभीस्तरको केबिन स्पेस पाइने कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा यो एलएफपी ‘म्यागजिन ब्याट्री’ सहित उपलब्ध छ भने भेरियन्टअनुसार एकपटकको चार्जमा ३३५ देखि ४३० किलोमिटरसम्म (डब्ल्यूएलटीपी) रेन्ज दिन्छ ।
नेपालमा आउने भेरियन्ट, ब्याट्री प्याक, रेन्ज र मूल्यसम्बन्धी विवरण सीजी मोटर्सले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्