काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी बाढीपीडितका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।
संघका अनुसार उसका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । साथै, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री राहतस्वरूप वितरण भइरहेको छ ।
संघले बाढीबाट प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेको प्रयासको प्रशंसा गरेको छ ।
विपद्पछि प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ ।
संघले उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनः स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्