Skip to content

हिमालयन ग्रीन इनर्जी एक्स्पो आयोजना हुँदै: बीटुबीदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म, करिब दर्जन बढि देशको सहभागीता रहने

काठमाडौं । नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार, स्वच्छ ऊर्जा प्रविधिको विकास, लगानी प्रवद्र्धन तथा जलवायु–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा २०८३ माघ ३ देखी ५ गतेसम्म मेला काठमाडौंमा आयोजना हुनेछ ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल भन्ने नारासहित आयोजना हुने एक्स्पोको यो पाँचौं संस्करण हो । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएको थियो ।

इप्पानका अध्यक्ष मोहन डाँगीले यसपटकको एक्स्पोलाई परम्परागत जलविद्युत् केन्द्रित प्रदर्शनीबाट विस्तार गर्दै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्म समेटिएको एकीकृत हरित ऊर्जा बजारका रूपमा विकास गर्न लागेको जनाए ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३ सय मेगावाट पुगेको र सरकारले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य अघि सारेको अवस्थामा एक्स्पो आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार उक्त लक्ष्य घरेलु विद्युत् माग पूरा गर्ने विषयमा मात्र सीमित छैन । औद्योगिक विकास, विद्युतीय सवारीको विस्तार, नवीकरणीय ऊर्जाको विकास तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग पनि यो लक्ष्य जोडिएको छ ।

हाल राष्ट्रिय प्रसारण प्रणालीमा करिब ४ हजार ३ सय मेगावाट बराबरका आयोजना निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न आयोजनामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकले जनाएको छ । त्यस्तै, करिब ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन् ।

उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, विद्युत् खपत वृद्धि, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण र अन्तरदेशीय विद्युत् व्यापारको विस्तार आवश्यक रहेको डाँगीको भनाइ छ । यही आवश्यकतालाई सम्बोधन गर्दै लगानी, प्रविधि, बजार, नीति र साझेदारीका लागि साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको हो ।

जलवायु जोखिम र उत्थानशील पूर्वाधारमा जोड

नेपालको ऊर्जा क्षेत्र तीव्र रूपमा विस्तार भइरहेका बेला जलवायु परिवर्तन तथा जलवायुजन्य विपद्को जोखिमसमेत बढिरहेको विषयलाई एक्स्पोले प्राथमिकतामा राख्ने भएको छ ।

पछिल्ला वर्षहरूमा इलाम,संखुवासभा, लमजुङलगायतका क्षेत्रमा भएका बाढी तथा पहिरो र पछिल्लो समय भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको ठूलो बाढीले ऊर्जा आयोजनाका पूर्वाधारमा क्षति पुर्‍याएका घटनालाई समेत ऊर्जा पूर्वाधारको जोखिमसँग जोडेर हेर्नुपर्ने आवश्यकता आयोजकले औंल्याएको छ ।

एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी तथा नवप्रवर्तनका विषयमा बहस र अनुभव आदानप्रदान गरिनेछ । उत्पादन क्षमता बढाउने मात्र नभई जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा समेत जोड दिइने आयोजकले जनाएको छ ।

‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ ले नेपालको ऊर्जा क्षेत्रलाई जलविद्युत्मा मात्र सीमित नराखी व्यापक स्वच्छ ऊर्जा प्रणालीतर्फ लैजाने उद्देश्य राखेको छ ।

एक्स्पोमा सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा उत्पादन, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, एआई, आईओटी तथा जलवायु प्रविधिका क्षेत्रमा भएका उत्पादन र प्रविधि प्रदर्शन गरिनेछ ।

यसका माध्यमबाट ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागितामार्फत नेपालमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय लगानी, संवाद र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ ।

बीटुबीदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म

एक्स्पोका क्रममा विभिन्न व्यावसायिक तथा ज्ञानमूलक कार्यक्रमसमेत आयोजना गरिनेछन् । आयोजकका अनुसार बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर एक्स्पोका प्रमुख आकर्षण हुनेछन् ।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि राखिनेछन् ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाबीच प्रतिस्पर्धा गराउने कार्यक्रमसमेत एक्स्पोमा समावेश गरिनेछ ।

विभिन्न मुलुकका कम्पनी र प्रतिनिधिको सहभागिता

एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी गरिएको छ ।

सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई समेत सहभागी गराउने आयोजकको तयारी छ ।

वार्षिक ऊर्जा इभेन्टका रूपमा विकास गर्ने लक्ष्य

इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर एक्स्पो आयोजना गर्न लागेको हो । निजी क्षेत्रको ऊर्जा उत्पादन तथा लगानीलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले २०५७ माघ ४ गते (जनवरी १७, २००१) स्थापना भएको इप्पानले स्थापनाकालदेखि ऊर्जा उत्पादन विस्तार, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि पहल गर्दै आएको जनाएको छ ।

सरकारले १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको अवस्थामा प्रविधिमा भइरहेको तीव्र परिवर्तनको उपयोग गर्दै लगानीकर्ता, नीति निर्माता, विज्ञ, सरकारी प्रतिनिधि, उपकरण तथा मेसिन उत्पादक, आपूर्तिकर्ता र निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउने उद्देश्य एक्स्पोको रहेको छ ।

इप्पानले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर माघ ३, ४ र ५ गतेलाई वार्षिक ऊर्जा इभेन्टका रूपमा नियमित गर्ने लक्ष्यसमेत राखेको छ ।

१०० भन्दा बढी स्टल, ३० हजारभन्दा बढी अवलोकनकर्ताको अपेक्षा

आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनीसँगै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । यसपटक ‘एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाउँदै ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तनलाई एक्स्पोको केन्द्रमा राखिएको आयोजकले जनाएको छ ।

इप्पानका अनुसार एक्स्पो नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्र केन्द्रित ठूलो वार्षिक कार्यक्रमका रूपमा ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने प्रयास हो ।

राष्ट्रिय रूपमा अघि सारिएको ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्नुका साथै जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा एक्स्पोले योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ । स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट्स सोलुसन प्रालिमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T