Skip to content

हाथवे इन्भेष्टमेन्टका ४ सेयरधनी २८ लाख ८५ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका ४ जना आधारभूत सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ठूलो परिमाणमा रहेको सेयर बिक्री गर्ने भएका छन् ।

कम्पनीको सेयरको लकइन अवधि असोज २ गते सकिएको छ ।  कम्पनीका ४ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २८ लाख ८५ हजार ७२७ कित्ता सेयर बेच्ने भएका हुन् ।

लगानीकर्ताले सेयर बेच्न भन्दै कम्पनीलाई जानकारी गराएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारी अनुसार संस्थापक सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

लकइन अवधि सकिएसँगै ढकालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार हाथवे इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो । उक्त मूल्य अनुसार ढकालले बिक्री गर्न लागेको २० लाख कित्ता सेयरको बजार मूल्य ९० करोड ५८ लाख रुपैयाँ बराबर हुन्छ ।

कम्पनीको संस्थापक सेयरधनी अम्बिका शर्मा लामिछानेले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेकी छिन् ।  उनले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता सेयर बेच्न लागेकी हुन् । बिहीबारको अन्तिम मूल्य अनुसार उक्त सेयरको मूल्य ९ करोड ५ लाख ८० हजार रुपैयाँ पर्छ ।

यसैगरी, कम्पनीको संस्थापक सेयरधनी सुमित प्रधानले आफ्नो नाममा रहेको ३ लाख ४८ हजार ६६६ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बिहीबारको अन्तिम क्लोजिङ मूल्य अनुसार १४ करोड ८४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, अर्का लगानीकर्ता मनिष ढकालले आफ्नो स्वामित्वमा रहेको ३ लाख ३७ हजार ६१ कित्ता सेयर बेच्न लागेका छन् ।

बिहीबारको अन्तिम मूल्य अनुसार उक्त सेयरको मूल्य १५ करोड २६ लाख ५४ हजार रुपैयाँ पर्छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि बिक्री गर्ने मनसायबारे सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार आधारभूत सेयरधनीहरूले आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima