काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणाली प्रभावित हुँदा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
उपलब्ध विवरणअनुसार पोखरा, बुटवल, हेटौँडा र काठमाडौंलगायतका क्षेत्रमा बाढी, प्रसारण लाइनमा खराबी, उपकरणमा समस्या तथा अत्यधिक विद्युत् भारका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो ।
सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ। कुश्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा खराबी आउँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ। त्यस्तै, रौघाङ–दाना १ र २ नम्बर प्रसारण लाइनमा आएको समस्याका कारण करिब १५५ मेगावाट विद्युत् प्रभावित भएको छ ।
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी, मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्तिमा समेत अवरोध आएको छ। पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको विवरणमा उल्लेख छ ।
यसैगरी, रौघाट क्षेत्रमा न्यू बुटवल–कुश्मा २२० केभी प्रसारण लाइनमा आएको खराबीका कारण करिब ११० मेगावाट विद्युत् प्रभावित भएको छ। उक्त लाइन बिहान ९ः५० बजे पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको थियो ।
बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेर खराबी आएपछि विद्युत् प्रसारण अवरुद्ध भएको थियो । उक्त लाइन बिहान ९ः५१ बजे पुनः सञ्चालनमा ल्याइएको उल्लेख छ । चापर–पथलैया १३२ केभी प्रसारण लाइन बन्द हुँदा कावासोती सबस्टेसनमा समेत करिब एक घण्टा विद्युत् भार कटौती गरिएको थियो ।
हेटौँडा क्षेत्रमा बाढीका कारण माण्डु ६६ केभी प्रसारण लाइनमा समस्या आउँदा करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ । कावासोती–भारतपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा उपकरणमा खराबी आएको विवरणमा उल्लेख छ ।
सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्ज क्षेत्रका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।
काठमाडौं क्षेत्रमा पनि विद्युत् प्रणालीमा केही समय अवरोध आएको थियो । पाटन सबस्टेसन र टेकु क्षेत्रमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् आपूर्ति प्रभावित भएको थियो । पाटन क्षेत्रमा पथलैया प्रसारण लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइनमा एकै समयमा विद्युत् भार बढेपछि समस्या आएको थियो ।
त्यस्तै, कावासोती सबस्टेसनमा २० मेगावाट, हरदी सबस्टेसनमा २५ मेगावाट तथा सुनवल–मैनिया र बुटवल क्षेत्रका उद्योगमा ५० मेगावाटसम्म विद्युत् भार कटौती गरिएको विवरणमा उल्लेख छ । सिमरा सबस्टेसनमा २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगमा ८० मेगावाट विद्युत् आपूर्ति कटौती गरिएको थियो ।
उपलब्ध विवरणमा उल्लेख भएका विभिन्न प्रसारण लाइन, विद्युत् उत्पादन तथा विद्युत् भार कटौतीका परिमाण जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको अवरोध देखिएको हो ।
बाढीपहिरोका कारण प्रसारण लाइन तथा जलविद्युत् आयोजनामा क्षति पुगेपछि लाइनमा खराबी, उपकरणमा समस्या र विद्युत् भार बढ्ने क्रम देखिएको छ। त्यसका कारण विभिन्न क्षेत्रमा विद्युत् भार कटौती गर्नुपरेको छ।
प्रतिक्रिया दिनुहोस्