काठमाडौं । एक महिनाअघि भोटेकोशीमा आएको बाढी र असोज ८ गतेदेखि परेको अविरल वर्षा तथा बाढी पहिरोको असर सर्वत्र परेको छ ।
उक्त बर्षा,बाढी र पहिरोका कारण नेपालको चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका तथा सडकमार्ग प्रभावित भएका छन् । त्यसको असर सर्वत्र परेको छ ।
बाढी,पहिरो र बेमौसमी हिमपातका कारण व्यापारिलाई समेत ठूलो असर परेको छ । नेपाली हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाडपर्व दशैं, तिहार नजिकै आएको छ । व्यापारीले चाडपर्व लक्षित सामान चीनबाट आयात गर्ने गर्छन् । तर बाढी पहिरोका कारण यो बर्ष व्यापार निकै प्रभावित भएको छ ।
विशेषगरी चीनबाट आयात हुने सामान निजकै आएका चाडपर्वमा आइपुग्ने सम्भावना कम हुँदै गएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रमुख व्यापारिक रसुवागढी नाका क्षतबिक्षत भएको छ ।
त्यहाँ रहेका ५ सय बढी कन्टेनर र त्यसमा भएका सामानमा क्षति पुगेको छ । उक्त नाका हुँदै आयात भइरहेका सामान पनि रोकिएका छन् । यता तातोपानी नाका चीनले अघोषित रुपमा बन्द गरेको छ । अघोषित रुपमा बन्द गर्नुका विविध कारण मध्ये एक हो नेपाल तर्फको कमजोर सडक पुर्वाधार पनि भएको बताइन्छ ।
भोटेकोशी बाढीले क्षतिपुर्याएपछि चीनले तातोपानी नाका खोल्छकी भन्ने धेरैमा आशा थियो । त्यो पुरा हुन सकेन् । बिकल्पको रुपमा रहेको कोरला नाका ११ गते आएको अविरल बाढीका कारण प्रभावित भएको छ ।
मुस्ताङको कोरोला नाकाबाट सामान आयात गर्दा ढुवानी समय र लागत बढेपनि व्यापारी सामान ल्याउन तयार भएका थिए । चाडपर्व तथा आगामी सिजनलाई लक्षित गरी व्यापारीहरूले कोरला नाकाबाट ठूलो परिमाणमा कपडा, जुत्ता,जाडोका सामान, इलेक्ट्रोनिक्सलगायतका सामान आयात गर्न लागेका थिए । कतिपय व्यापारीहरुले चीनमा गएर सामान अडर समेत गरिसकेका थिए ।
व्यापारीहरुले कोरोला नाकाबाट भएपनि सामान आयात गर्न तयार भएका थिए । असोज ८ गतेदेखि परेको अविरल बर्षा र आज ११ गते बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर–२ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुलमा कालीगण्डकी नदिले क्षति पुर्याएको छ । साथै बेनी–जोमसोम–कोरला सडक खण्डमा पनि धेरै ठाउँमा क्षति पुर्याएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएको छ । कोरोला नाकाबाट आउने बाटोहरु ठाउँ–ठाउँमा बिग्रिएको पुनले लगानी न्यूजलाई बताए ।
यता उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा बेमौसमी हिमपात सुरु भएको छ । जसले गर्दा ठाउँ–ठाउँमा सडक बिग्रिएपछि मालवाहक सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ । यसले दशैं, तिहार तथा जाडो मौसमलाई लक्षित गरेर आयात गरेको सामान समयमा नै ल्याउन नसकिने चिन्ता बढेको छ ।
न्यूरोडका व्यापारी युवराज चौलागाईंका अनुसार यसपटक दशैसँगै जाडोका कपडाको व्यापारमा समेत बाढीपहिरोको असर देखिने भएको छ । चीनबाट आयात गरिने कपडा तथा अन्य उपभोग्य सामग्री समयमै नेपाल भित्रिन नसके बजारमा सामानको अभाव हुन सक्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने उनको भनाइ छ ।
उनका अनुसार रसुवागढी नाका बन्द हुनु,तातोपानी नाका नखोलिनु तथा कोरोला नाका जोडिने सडकसमेत वर्षा र हिमपातका कारण बन्द हुनुले व्यापारीलाई ठूलो समस्या परेको छ । सामान आयात गर्न नसक्दा एकातिर व्यापार घट्ने र अर्कोतर्फ ढुवानीको लागत बढ्दा उपभोक्ताले विगतको तुलनामा सस्तो मूल्यमा सामान पाउने स्थिति नरहने उनले बताए ।
व्यापारीहरूले चाडपर्वका लागि आवश्यक सामान समयमै बजारमा ल्याउन नसके त्यसको असर दशैं,तिहारको व्यापारमा समेत पर्छ । यस्तै उपभोक्ताले समेत रोजे अनुसार सामान पाउने सम्भावना कम हुन्छ ।
चीनबाट आयात हुने जाडोका कपडा,जुत्ता,ज्याकेट तथा अन्य सामग्रीको आपूर्ति प्रभावित हुँदा बजारमा उपलब्ध सामानको मूल्य बढ्न सक्ने व्यापारीको भनाइ छ ।
व्यापारीको लगानी जोखिममा
चाडपर्वलाई लक्षित गरी व्यापारीहरूले पहिले नै ठूलो रकम लगानी गरेर सामान खरिद गर्ने गरेका हुन्छन् । तर, सामान नेपाल भित्र्याउने मार्ग नै अवरुद्ध भएपछि उनीहरूको लगानी लामो समयसम्म अड्किने गर्छ । सिजन अनुसार आयात हुने सामान त्यही सिजनमा बिक्री गर्न नसकेको खन्डमा सामान फस्ने, समयमा नै बिक्री नहुने डर पनि हुन्छ ।
बाटो परिवर्तन गरेर सामान आयात गर्दा थप ढुवानी शुल्क तिर्नुपर्ने र लामो समय लाग्ने भएकाले व्यापारिक लागत बढिरहेको छ । बाढी पहिरोका कारण बाटोमै सामान क्षति हुने जोखिमसमेत बढेको व्यवसायीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्