काठमाडौं । लगातार ४ दिन अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण १ हजार २९२ मेगावाट क्षमताका विद्युत् आयोजना प्रभावित भएका छन् ।
उनका अनुसार बाढी पहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको हो ।
प्राधिकरणका अनुसार असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेको हो । प्राधिकरणका अनुसार हाल ८ वटा विद्युत् आयोजनाका २३० मेगावाट उत्पादन प्रणालीबाट बाहिर रहेको छ ।
कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा ७ वटा जलविद्युत् आयोजनाको १९० मेगावाट क्षमता प्रभावित भएको छ।
सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध २६२ मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आएका छन् भने मर्स्याङ्दी करिडोरमा प्रभावित १९० मेगावाट क्षमताका आयोजना सञ्चालनमा आएको छ । बाढीका कारण बन्द रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सफाइपछि आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने जनाइएको छ । कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ ।
वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएका थिए । जसमा म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने प्राधिकरणको योजना छ।
यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबमा क्षति पुगेको तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति हुँदा ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ।
यस क्षेत्रमा प्राधिकरण तथा उसका सहायक कम्पनीतर्फ प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।
प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् माग–आपूर्ति सन्तुलनका लागि आयातमा समेत निर्भर हुने योजना बनाएको छ। प्राधिकरणको अनुसार सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ।
माग धान्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट सुख्खायाममा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाटभन्दा बढी पुग्ने प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्