Skip to content

नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

nabil bank
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा पनि सहयोग पुग्ने बताएका छन् ।

यहाँस्थित चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलले राजधानीमा आज आयोजना गरेको चिनियाँ शैक्षिक मेलाको उद्घाटन गर्दै उनले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताए। नेपाली विद्यार्थीले चीनमा छात्रवृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरेर फर्केका धेरै उदाहरण रहेको उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा सुनाए । मेलापछि भविष्यमा अझ धेरै विद्यार्थी लाभान्वित हुने उनको विश्वास थियो ।

शैक्षिक मेलाले चीनको उच्च शिक्षाका बारेमा जानकारी दिन कोशेढुङ्गाको काम गरेको उल्लेख गर्दै उनले नेपालका पूर्व एवं वर्तमान उच्च अधिकारीबाट भएको औपचारिक भ्रमणले पनि दुई देशबीचको शैक्षिक, सांंस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको श्रेष्ठको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले हाल चीनमा दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको सङ्ख्या निरन्तर बढिरहेको बताए ।

दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोग चीन–नेपालबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला बनेको उनले बताए । यसले साझा भविष्यका साथै चीन–नेपाल समुदायको घनिष्ठ र अझ नजिकको सम्बन्ध निर्माण गर्न अतुलनीय योगदान दिएको राजदूत सोङले बताए।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले दुई देशबीचको शैक्षिक सम्बन्ध पनि जनस्तरमा जस्तै सुमधुर बनाउन शैक्षिक मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चीनको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएकाले नेपाली विद्यार्थीले यसबाट लाभान्वित हुने अवसर पाउने उनले सुनाए।

कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले एक दशकपछि यस्तो मेला आयोजना गरेर चिनियाँ शैक्षिक अवस्थाका बारेमा नेपाली विद्यार्थी, अभिभावक एवं सरोकार भएका अन्य व्यक्तिलाई गराउने अवसर प्राप्त भएको बताए।

एक दिने शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा जानकारीसहितको सामग्री राखिएको छ । यसबाट चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime