Skip to content

एनपीएलको तेस्रो संस्करणमा डेढ अर्बको कारोबार हुने अनुमान

क्यान र फ्रेन्चाइज टोलीको संयुक्त कारोबार १५० करोड पुग्ने, क्यानले मात्रै ७५ करोडसम्मको कारोबार गर्ने अपेक्षा

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइज टोलीहरूको संयुक्त आर्थिक कारोबार डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले एक महिनाको अवधिमा एनपीएलबाट करिब १५० करोड रुपैयाँको कारोबार हुने अनुमान सुनाएका हुन्।

खड्काका अनुसार एनपीएलबाट क्यानले प्रायोजन, टिकट बिक्रीलगायतका माध्यमबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार गर्ने अपेक्षा गरेको छ। प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

आठ फ्रेन्चाइज टोलीका मालिकहरूले पनि खेलाडी पारिश्रमिक, प्रायोजन, होटल, यातायात र प्रचारप्रसारमा ठूलो रकम खर्च गर्ने भएकाले क्यान र टोलीहरूको संयुक्त कारोबार डेढ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने उनको भनाइ छ।

एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको क्यानले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको बताए। उत्कृष्ट खेलाडीको सहभागिता, प्रायोजकको साथ र प्रतियोगितासँग जोडिएको आर्थिक गतिविधिले लिगको उचाइ बढाएको उनको भनाइ छ।

एनपीएलको आर्थिक कारोबार बढ्दै गए पनि प्रतियोगिताबाट हुने आम्दानी क्रिकेटको विकासमा कसरी खर्च हुन्छ भन्ने विषयमा पत्रकारहरूले प्रश्न गरेका थिए। त्यसको जवाफमा क्यानका सचिव पारस खड्काले संघको आम्दानी जिल्ला, प्रदेश, राष्ट्रिय टोली, उमेर समूह र महिला क्रिकेटलगायतका गतिविधिमा खर्च भइरहेको बताए।

उनका अनुसार एउटा सामान्य प्रतियोगितामा सहभागिता जनाउनसमेत ७० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुने गरेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताको संख्या बढ्ने भएकाले क्रिकेटबाट हुने आम्दानी क्रिकेटकै विकासमा लगानी गर्नुपर्ने उनले बताए।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima