Skip to content
Prabhu

९ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन वाग्लेले थाले पहल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेस्थित त्रिशूलीमा निर्माण सुरु गरी अलपत्र पारिएको पक्की पुल सुचारु गराउन पहल थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले विगत ९ वर्षदेखि अलपत्र बनेको उक्त पुल सुचारु गराउन पहल थालेका हुन् ।

पुलको काम सुचारु गराउने विषयमा बुधबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा छलफल गरिएको छ । छलफलमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल शाखाका प्रमुख ललितजन खनाल, डिभिजन सडक कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवाली र इन्जिनियर श्रीराम न्यौपाने सहभागी थिए।

निर्माण व्यवसायी मृत सञ्जीवनीले दुईवटा पिल्लरलगायत ४५ प्रतिशत काम सम्पन्न गरेता पनि नदीमाथि ‘आर्क’को प्रगति नभएकाले दुईरतीन वटा विकल्पमा छलफल गरिएको सांसद वाग्लेले जानकारी दिए। उनले भने, ‘पुल समयभित्रै सम्पन्न हुनुपर्नेमा यत्तिका वर्षसम्म खास प्रगति भएको छैन । अब यो पुललाई सम्पन्न गराउन के गर्नुपर्छ सबै विकल्पमा छलफल गरिएको छ ।’

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडाले पहिलो पटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरिएको थियो ।

त्रिशुली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी ‘आर्कब्रिज’ बनाउन लागिएको हो । अहिलेसम्म वारिपारीका फाउण्डेसनको काम मात्रै सकिएको छ । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको पुलको लागत ९ करोड ५६ लाख रहेको छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गमा पर्ने उक्त पुल निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालित मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटर दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal