काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले स्थापनाको २२औँ वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा लामो यात्रामा निरन्तर वृद्धि, ग्राहकको विश्वास र भरपर्दो बीमा सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो।
सन् २००४ मा नेपालको १४औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्स वित्तीय सबलता, उत्कृष्ट सेवा र विश्वसनीयताका आधारमा नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।
स्थापनाका बेला १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले अहिले आफ्नो पुँजी बढाएर ३ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। यो नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी चुक्ता पुँजी हो।
त्यस्तै, स्थापनाको प्रारम्भिक चरणमा १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। वार्षिक बीमाशुल्क संकलन १ अर्बबाट ६ अर्ब रुपैयाँ पुर्याउने शिखर इन्स्योरेन्स नेपालकै पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ। बजारमा १३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कम्पनीले एक दशकभन्दा लामो समयदेखि आफ्नो अग्रणी स्थान कायम राख्दै आएको छ।
कम्पनीले बीमितप्रतिको आफ्नो प्रतिबद्धता दाबी भुक्तानीमार्फत पनि प्रस्तुत गरेको जनाएको छ। स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी बीमा दाबीको भुक्तानी गर्दै ३० अर्ब रुपैयाँभन्दा बढी रकम बीमितलाई उपलब्ध गराइसकेको छ।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पदेखि जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा विभिन्न प्राकृतिक विपत्तिबाट प्रभावित ग्राहकलाई कम्पनीले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै कम्पनीले ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
वित्तीय सुरक्षालाई थप मजबुत बनाउन कम्पनीले सुदृढ पुनर्बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीका सबै विदेशी पुनर्बीमा सम्झौताअन्तर्गतका पुनर्बीमकको रेटिङ ‘ए’ वा सोभन्दा माथि रहेको छ। साथै, निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा बलियो विपद् जोखिम पुनर्बीमा सुरक्षा रहेको कम्पनीको दाबी छ।
सुरक्षा, विश्वसनीयता र सञ्चालन उत्कृष्टताका आधारमा शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘एए माइनस’ रेटिङ प्राप्त गरेको छ ।
बीमा सेवालाई सहज र पहुँचयोग्य बनाउन कम्पनीले प्रविधिमा आधारित सेवाको विस्तारसमेत गरेको छ। ‘डिजिटल शिखर’ मार्फत ग्राहकले अनलाइनबाटै बीमालेख खरिद तथा नवीकरण गर्न, भुक्तानी गर्न र बीमा दाबी प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ। ग्राहकलाई निरन्तर सहयोग उपलब्ध गराउन कम्पनीले २४ घण्टे कल सेन्टरसमेत सञ्चालन गरेको छ।
सूचना सुरक्षा, विश्वसनीयता र सञ्चालन व्यवस्थापनलाई प्राथमिकता दिँदै शिखर इन्स्योरेन्स नेपालमा आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने एकमात्र निर्जीवन बीमा कम्पनी रहेको जनाएको छ।
कम्पनीले आफ्नो सेवा देशभर विस्तार गर्दै ७ वटै प्रदेशका ७१ जिल्लामा १२९ कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। हाल कम्पनीका ग्राहक संख्या ३ लाखभन्दा बढी पुगेको छ। कम्पनीमा ६८१ कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ४० प्रतिशत महिला छन्।
वित्तीय वृद्धिसँगै नेपालको बीमा क्षेत्रको विकास, बीमाको पहुँच विस्तार र मुलुकको आर्थिक उत्थानशीलता अभिवृद्धिमा समेत कम्पनीले योगदान पुर्याउँदै आएको जनाएको छ। कम्पनीले हाल ७८ प्रकारका बीमा योजना तथा उत्पादनमार्फत सम्पत्ति, मोटर, सामुद्रिक, इन्जिनियरिङ, हवाई तथा कृषि क्षेत्रलगायत विभिन्न क्षेत्रमा बीमा सुरक्षा प्रदान गर्दै आएको छ।
व्यक्ति, व्यवसाय, उद्योग तथा समुदायका विविध जोखिम व्यवस्थापन आवश्यकतालाई ध्यानमा राखेर बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीको लगानी पोर्टफोलियो ५ अर्ब १० करोड रुपैयाँ पुगेको छ। उक्त लगानीले पर्यटन, कृषि तथा जलविद्युत्लगायत मुलुकका महत्त्वपूर्ण आर्थिक क्षेत्रमा योगदान पुर्याइरहेको कम्पनीले जनाएको छ।
राष्ट्रिय राजस्वमा पुर्याएको योगदानका लागि आन्तरिक राजस्व विभागले समेत कम्पनीको योगदानलाई मान्यता दिएको छ।
२२औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्नो उपलब्धि बीमित, सेयरधनी, कर्मचारी, अभिकर्ता, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालाको निरन्तर विश्वास र सहयोगको परिणाम भएको जनाएको छ। उनीहरूको विश्वास र साथ नै कम्पनीको विकासको प्रमुख आधार रहेको उल्लेख गरिएको छ।
आगामी दिनमा प्रविधिको विकासलाई आत्मसात् गर्दै बीमाको पहुँच विस्तार गर्ने, दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता छ। सुरक्षित, वित्तीय रूपमा संरक्षित तथा जोखिम सामना गर्न सक्षम नेपाल निर्माणमा अझ ठूलो भूमिका निर्वाह गर्ने लक्ष्यसहित कम्पनी अघि बढ्ने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्