काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न उच्चस्तरीय वार्ताका क्रममा भारतले गरेको सहयोग घोषणाको स्वागत गरेको छ ।
भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ।
साथै, विभिन्न क्षेत्रका सहयोगसहित भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दिगो विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँको सहयोग प्याकेज उपलब्ध गराउने भएको छ ।
भारतले नेपाललाई कान्डला र पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति जनाएको छ ।
जसबाट नेपालको तेस्रो मुलुकसँगको व्यापार थप सहज र द्रुत हुने अपेक्षा गरिएको छ । यसैगरी, अयोध्या–जनकपुर रेल सेवा, सरयू–कमला एक्सप्रेस रेल तथा दार्चुला–धार्चुला पुल निर्माण तथा सञ्चालन सुरु गर्ने विषयमा पनि सहमति भएको छ ।
यी सम्पर्क सञ्जालले दुवै देशबीच सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछन् । निक्कीले जनकपुरलाई विवाह पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुने, लुम्बिनी–बोधगयालाई बौद्ध धार्मिक पर्यटन परिपथका रूपमा विस्तार गरिने तथा शिव–शक्ति धार्मिक स्थलहरूलाई आध्यात्मिक पर्यटनका गन्तव्यका रूपमा प्रवर्द्धन गरिने अपेक्षा गरेको छ ।
यस्तै लोअर अरुण जलविद्युत् आयोजनाको शिलान्यासले हरित तथा स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्नुका साथै नेपालको दिगो आर्थिक विकासका लागि महत्वपूर्ण आधारशिला तयार गर्नेछ ।
भारतले नेपालमा भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) प्रणालीअन्तर्गत प्राविधिक क्याम्पस स्थापना गर्ने भएको छ ।
यसले स्टार्टअप तथा इन्क्युबेसन कार्यक्रमहरूलाई सहयोग पुर्याउनुका साथै नेपाललाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ । निक्कीले यसलाई यस वर्षको भ्रमणको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
विशेषगरी भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जालको विस्तार गर्ने विषयमा भएको सहमतिको निक्कीले स्वागत गरेको छ ।
यसअन्तर्गत नेपाली स्टार्टअपहरूलाई भारतमा तालिम तथा मेन्टरसिप (मार्गदर्शन) प्रदान गर्ने र काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स (उत्कृष्टता केन्द्र) स्थापना गर्ने पहल समावेश छन् । नेपाली युवामाझ क्रिकेट अत्यन्त लोकप्रिय रहेको छ ।
यस क्षेत्रमा थप विकासको प्रचुर सम्भावना छ। भारतले खेलकुद पूर्वाधार विकास तथा खेलाडीहरूको प्रशिक्षणमा सहयोग गर्ने सहमति जनाएको छ । निक्कीले यसलाई भ्रमणको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्