काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन प्रणाली सुधारका लागि ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। त्यस्तै, सुधार कार्यक्रम कार्यान्वयनका लागि ७ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता अनुदानसमेत स्वीकृत गरेको छ।
काठमाडौं उपत्यका खानेपानी क्षेत्र सुधार कार्यक्रमको पहिलो चरणअन्तर्गत उक्त ऋण तथा अनुदान स्वीकृत गरिएको हो। यस कार्यक्रमले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रमा देखिएका संस्थागत कमजोरी, कमजोर व्यावसायिक कार्यसम्पादन, फोहोरपानी प्रशोधनको अपर्याप्तता र एकीकृत योजना तथा विकासको अभावलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममार्फत खानेपानी क्षेत्रसँग सम्बन्धित संस्थाहरूको संस्थागत एकीकरण, सुशासन, जवाफदेहिता र सेवा प्रवाहको प्रभावकारिता बढाउने लक्ष्य राखिएको एडिबीले जनाएको छ। यसले खानेपानी तथा ढल व्यवस्थापन सेवालाई दिगो, प्रभावकारी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एडिबीका नेपालका लागि आवासीय निर्देशक अर्नाउड कोचोइसले विश्वसनीय र दिगो खानेपानी तथा ढल व्यवस्थापन सेवा सार्वजनिक स्वास्थ्य, आर्थिक वृद्धि र काठमाडौं उपत्यकाका बासिन्दाको जीवनस्तरका लागि आधारभूत आवश्यकता भएको बताएका छन्।
उनका अनुसार यो कार्यक्रमले खानेपानी पूर्वाधारमा भइरहेका लगानीलाई संस्थागत सुधारसँग जोड्नेछ। साथै, सेवा प्रदायक संस्थाको कार्यक्षमता बढाउने र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम सामना गर्न सक्ने क्षमता विकास गर्नेछ।
नेपाल सरकारले काठमाडौं उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थालाई आधुनिक, आर्थिक रूपमा दिगो र नागरिककेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रयासलाई कार्यक्रमले सहयोग गर्नेछ। यसबाट सबै नागरिकलाई समावेशी, भरपर्दो र दिगो खानेपानी तथा ढल व्यवस्थापन सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
कार्यक्रम दुई चरणमा कार्यान्वयन हुने गरी संरचना तयार गरिएको छ। पहिलो चरणमा खानेपानी क्षेत्रको सुशासन र नियमनका लागि आवश्यक संस्थागत तथा नीतिगत आधार तयार गरिएको छ। दोस्रो चरणमा ती सुधारलाई कार्यान्वयन गर्दै संस्थागत रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
सन् २०३० सम्ममा काठमाडौं उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थाको सञ्चालन, प्रशासनिक तथा वित्तीय कार्यसम्पादनमा सुधार आउने एडिबीको अपेक्षा छ। त्यस्तै, खानेपानीको गुणस्तरसम्बन्धी मापदण्डको पालना, सेवाग्राहीका गुनासा सम्बोधन गर्ने क्षमता र उच्च गुणस्तरको खानेपानी तथा ढल व्यवस्थापन सेवामा पहुँच विस्तार हुने लक्ष्य राखिएको छ।









प्रतिक्रिया दिनुहोस्