काठमाडौं । विदेशमा पसिना बगाएर नेपालीले पठाएको रेमिट्यान्सदेखि सुन तस्करी र अवैध पुँजी पलायनसम्मको आर्थिक सञ्जालमा हुन्डीको जालो फैलिएको तथ्य सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको एक प्रतिवेदन नेपालमा हुन्डी कारोबार संगठित सञ्जालका रूपमा विस्तार भइरहेको छ । त्यसमा बैंक खाता, डिजिटल वालेट, रेमिट्यान्स सब–एजेन्ट तथा व्यापारिक प्रतिष्ठानसमेत प्रयोग भइरहेको पाईएको छ ।
प्रतिवेदनअनुसार २ जनवरी २०२५ देखि १६ जुलाई २०२६ सम्म वित्तीय संस्थाहरूले हुन्डीसँग सम्बन्धित १ हजार ६७२ वटा शंकास्पद कारोबारको प्रतिवेदन (एटीआर–एसएआर) दर्ता गरेका छन् । यो अवधिमा प्राप्त कुल १५ हजार ८१५ शंकास्पद कारोबार प्रतिवेदनको १०.५७ प्रतिशत हो ।
हुन्डीसँग सम्बन्धित कुल प्रतिवेदनमध्ये ८९.८९ प्रतिशत अर्थात् १ हजार ५०३ वटा वाणिज्य बैंकबाट आएका छन् । हुन्डी कारोबारको भौगोलिक विश्लेषणले मधेश प्रदेशलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्रका रूपमा देखाएको छ । अध्ययन गरिएका २०० वटा नमुनामध्ये ५३ प्रतिशत मधेश प्रदेशसँग सम्बन्धित छन् । कोशी प्रदेश १६ प्रतिशत र लुम्बिनी प्रदेश १२.५ प्रतिशतसहित त्यसपछि छन् ।
जिल्लागत रूपमा सिराहा १०.५ प्रतिशतसहित पहिलो स्थानमा छ । सप्तरी १० प्रतिशत, सुनसरी ९ प्रतिशत, धनुषा ८ प्रतिशत र महोत्तरी ७.५ प्रतिशत छन् । सीमावर्ती क्षेत्र, वैदेशिक रोजगारीसँगको सम्बन्ध, नगद कारोबारको उच्च प्रयोग र अनौपचारिक आर्थिक गतिविधिले हुन्डीको जोखिम बढाएको प्रतिवेदनको विश्लेषण छ ।
यसैगरी, हुन्डी सञ्चालकहरूले आफ्नो वास्तविक पहिचान लुकाउन सर्वसाधारणका बैंक खाता प्रयोग गरिरहेको प्रतिवेदनले औल्याएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएको एउटा घटनामा एक व्यक्तिले ५२ वटा म्यूल खातामार्फत करिब १ अर्ब ३ करोडदेखि १ अर्ब ४ करोड रुपैयाँसम्म रकम परिचालन गरेको पाइएको छ ।
त्यस्तै, पर्साका एक ३८ वर्षीय व्यक्तिको खातामा १९० जना कन्डक्टरमार्फत ३२ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको र त्यहाँबाट ८९ भन्दा बढी व्यक्ति तथा फर्ममा २० करोड रुपैयाँभन्दा बढी स्थानान्तरण भएको उल्लेख छ ।
विदेशमा काम गर्ने नेपालीले पठाएको रकम औपचारिक रेमिट्यान्स प्रणालीबाट नेपाल नआए पनि नेपालमा परिवारले रकम प्राप्त गर्ने गरेको अर्को जोखिमपूर्ण प्रवृत्ति प्रतिवेदनले औँल्याएको छ ।
खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान र युरोपमा रहेका नेपालीको विदेशी मुद्रा विदेशमै हुन्डी सञ्चालकले संकलन गर्ने र नेपालमा परिवारलाई बैंक तथा डिजिटल वालेटमार्फत भुक्तानी गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, महोत्तरीका एक व्यक्तिको रेमिट्यान्स सब–एजेन्ट फर्ममा मुख्य रेमिट्यान्स कम्पनीबाट प्रत्यक्ष रकम नआए पनि २८ करोड रुपैयाँभन्दा बढी कारोबार गरेको देखिएको छ ।
अध्ययन गरिएका नमुनामध्ये खुद्रा व्यापारसँग सम्बन्धित फर्म ४३ प्रतिशत र रेमिट्यान्स सब–एजेन्ट ४१.५ प्रतिशत छन् । हुन्डी अब नगद ओसारपसारमा मात्रै सीमित नरहेको प्रतिवेदनले देखाएको छ । सुन तस्करी, अनलाइन जुवा, क्रिप्टोकरेन्सी र सीमापार व्यापारमा समेत यसको प्रयोग भइरहेको छ ।
प्रतिवेदनमा ६०.७ केजी ब्रेक–प्याडमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग जोडिएका पेवेल नेपाल, सजिलो पे सम्बन्धी घटनाको चर्चा गरिएको छ । उक्त प्रकरणमा करिब १२३ देखि १२४ अर्ब रुपैयाँ बराबरको अनधिकृत कारोबार र त्यसको करिब ९० प्रतिशत अवैध सुनसँग जोडिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, युएसडीटी लगायतका भर्चुअल सम्पत्तिमार्फत हुन्डीको रकम फस्र्योट गर्ने प्रवृत्ति पनि देखिएको छ । ह्याट्एप जस्ता इन्क्रिप्टेड माध्यमबाट कारोबारको समन्वय गर्ने र रकमलाई सापटी, ऋण फिर्ता वा पारिवारिक सहयोगको आवरण दिने गरिएको प्रतिवेदनले औँल्याएको छ ।
पाँच वर्षमा १९७ अनुसन्धान, ३८७ करोड बिगो दाबी
नेपाल प्रहरीको पाँच वर्षको तथ्याङ्कले हुन्डी कारोबारविरुद्ध अनुसन्धान बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ को जेठसम्म १९७ वटा अनुसन्धान भएका छन् । १९० वटा मुद्दा अदालतमा दायर भएका छन् भने १०३ वटा मुद्दामा अन्तिम फैसला भएको छ ।
यस अवधिमा ३३१ जना व्यक्ति अनुसन्धानसँग जोडिएका छन् । प्रहरीले कुल ३८७ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ । ३८६ करोड रुपैयाँभन्दा बढी रकम जफत तथा सिज गरिएको र १६ करोड ४४ लाख रुपैयाँभन्दा बढी रकम फ्रिज गरिएको तथ्याङ्क छ ।
अन्तिम रूपमा जफत तथा कन्फिस्केट गरिएको रकम २७३ करोड ६२ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्