Skip to content
Prabhu

पश्चिमी सीमासम्म जोडियो कालोपत्रे सडक

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्म कालोपत्र सडक निर्माण गरिएको छ । नेपाल–भारत सीमासम्म जोड्ने नेपाली भूमिको कच्ची ग्राभेल सडक कालोपत्रे गरिएको हो ।

भारतीय प्रशासनसँगको समन्वयमा वर्षौंपछि अन्तर्राष्ट्रिय सीमासम्मको सडक कालोपत्रे गरिएको भीमदत्त नगरपालिका–११ का अध्यक्ष प्रकाश थापाले जानकारी दिए । ‘भारतीय भूमितर्फ दुई देशको सीमासम्म अघिल्लो वर्ष नै सडक कालोपत्रे भएको थियो । लामो प्रयास गर्दा पनि हाम्रोतर्फ कालोपत्र गर्न सकेका थिएनौँ’, उनले भने, ‘यसपालि त्यहाँको प्रशासनसँग समन्वय गरेर नेपाली भूमितर्फको सडक पनि कालोपत्रे गरिएको छ ।’

उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त नगरपालिका–११ मा सडक कालोपत्रे गर्न चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा रु. ४० लाख विनियोजन गरेको थियो । सोही बजेटमा गड्डाचौकीस्थित अन्तर्राष्ट्रिय सीमासम्म र भीमदत्त–११ का तीन ठाउँमा सडक कालोपत्रे गरिएको वडाध्यक्ष थापाले बताए।

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ नम्बर ८०५/१(७) बाट सडक कालोपत्रे गरेर नेपालतर्फ महाकाली पक्की पुलको पहुँचमार्गसम्म जोडिएको छ । ‘ग्राभेल सडक हुँदा आवातजावत गर्न धेरै अप्ठ्यारो हुन्थ्यो । अब कालोपत्रे सडकमा पहुँचमार्ग हुँदै भन्सार कार्यालयबाट महेन्द्र राजमार्गमा जोडिएको छ’, स्थानीय हरिओम भट्टले भने, ‘कालोपत्र सडकमा सहज यात्रा गर्न पाउँदा खुसी लागेको छ ।’

गड्डाचौकी नाकाको बाटो भएर नेपाली नागरिक किनमेल तथा बिरामी लिएर औषधोपचारका लागि सीमावर्ती भारतीय बजार जाने गर्छन् । रोजगारीको खोजीमा नेपाली नागरिकका लागि भारत प्रवेश गर्न गड्डाचौकी नाका रोजाइँमा पर्ने हुनाले सडक कालोपत्रे हुँदा सहजता थपेको उनीहरू बताउँछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal