Skip to content
Prabhu

आर्थिक रुपान्तरणको बलियो खम्बा कृषिः अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् । बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे। 

‘मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर, संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ’, उनले भने, ‘आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।’

मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टि गर्न आवश्यक रहेको बताए।

ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो । 

प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताए ।

गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले मुलुकको निर्वाहमुखी कृषि प्रणालीलाई फलदायी बनाउन सिँचाइको पर्याप्तता, कृषिको व्यावसायीकरण, लगानीमा सुनिश्चितता आवश्यक रहेको औंल्याए ।

‘विगतको तुलनामा कृषि क्षेत्रमा अधिकतम सुधार भएको छ तर अपेक्षाअनुरुपको हुनसकेको छैन । कृषिको प्रसार गर्न जरुरी छ । कृषि प्रणालीलाई फलदायी बनाउन तीनै तहका सरकारले कृषि बजेटको नीतिगत सुनिश्चितता गर्न आवश्यक छ’, उनले भने ।

नेपाल किसान सङ्घका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै  दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कृषिमा रुपान्तरण गर्न कृषि दशक घोषणा गरी अघि बढ्न आवश्यक रहेको उनले औंल्याए ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन बाह्य मुलुकसँग कूटनीतिक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए । उनले हिलस्टेसन प्रभावकारीरूपमा सञ्चालन गर्न सकेमा पर्यटकीय क्षेत्रमा मुलुकले ठूलो उपलब्धि हासिल गर्न सकिने जिकिर गरे । साथै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । प्रतिष्ठानले सञ्चालन गरेको दुईदिने गोष्ठीमा शुक्रबार ऊर्जा, सुशासन विषयमा छलफल गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal