Skip to content
Prabhu

बागलुङ कालिका मन्दिरमा सात महिनामा १ करोड ७१ लाख भेटी संकलन

बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा १ करोड ७१ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा १ करोड २८ लाख रुपैयाँ भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले  ४२ लाख रुपैयाँ बचत गरेको पाइएको छ। मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ । 

मन्दिरमा गत माघ महिनामा मात्रै १९ लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु तीन लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ । 

बडा दसैं र चैते दसैं भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलन हुने उनले बताउनुभयो । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ । 

खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त भएका थिए। कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए । 

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal