Skip to content
Prabhu

कालीगण्डकी करिडोरः छुसाङ–चैले खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरलाअन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ ।

वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको हो । आगामी २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले बताए।

सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षणलगायत कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ÷डीएस बिल्डर्स÷युनाइटेड जेभी कन्स्ट्रक्सनले ४ करोड ३१ लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईले बताए।

मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिक मन्दीको असहज अवस्थाका बाबजुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताए । गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको उनले बताए।

छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ ।

निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal