Skip to content
Prabhu

एचआईडिसीएलको नाफा र प्रतिसेयर आम्दानी सामान्य सुधार

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसिएल) को नाफामा सामान्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र प्रतिसेयर आम्दानीमा सामान्य सुधार देखिएको हो ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा ५.६७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधमिा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ । २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal