म्याग्दी । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन आवतजावतमा सहज भएको छ । छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो प्रिस्ट्रेस कङ्क्रिट विम प्रविधिको मोटरेबल पुल निर्माण गरिएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागार्इले जानकारी दिए ।
‘पुलसम्म पुग्ने पहुँचमार्ग कालोपत्रे गर्न बाँकी भए पनि अन्य काम सकिएपछि सवारीसाधन सञ्चालन गरिएको छ’, उनले भने, ‘छाक्ताङखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत बन्द हुने र खोलाबाट सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ ।’
सो पुल निर्माण गर्न कालिका(गजुरमुखी जेभीले विसं २०७६ चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो । पुलके ९९ प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर चापागाईंले बताए । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा छाक्ताङखोलासहित थप छ वटा मोटरेबल पुल निर्माण भएको हो ।
बेनी–जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । २० मिटर लामो लोमान्थाङ पुलको लागत चार करोड ६८ लाख रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख रुपैयाँ, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत छ करोड ३७ लाख रुपैयाँ र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ ।
पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए। योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।
पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०÷७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको हो । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् भने थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन आर्थिक वर्ष २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
छ वटा खण्डमा ८५ किमी ग्राभेल र तीन वटा खण्डको २२ किमी सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्