Skip to content

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

     

गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा  १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ  पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा  १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई  १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा  एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्घि भई  दुई खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ ।

     

आर्थिक वर्ष २०८०र८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता  एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई  तीन अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ५३ करोडले धनात्मक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime