महोत्तरी । नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा पाँच करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व रुपैयाँ संकलन गरेको हो ।
उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो ।
छ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ । यो कारबाहीबाट २७ लाख ८४ हजार एक सय ७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए ।
सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार सात १५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन् । गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन् ।
पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए । यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्