एजेन्सी । सन् २००१ सेप्टेम्बर ११ को बिहान चार वटा विमान चोरी भए । तीन वटा विमान भवनमा ठोक्काइयो र अमेरिकाविरुद्धको आतंकवादी आक्रमणलाई सफल बनाइयो । तर एउटा विमान, यूनाइटेड एयरलाइन्सको फ्लाइट ९३ भने सम्भावित विध्वंश हुनबाट जोगियो ।
सेप्टेम्बर ११ को बिहान फ्लाइट ९३ न्यू जर्सीको नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्न ढिलाइ भएको थियो । विमानले क्यालिफोर्नियाको सान फ्रान्सिस्को जानुपर्ने थियो । तर उडान ४० मिनेट ढिलाइ भयो । उक्त विमानमा चार जना अपहरणकारीहरू सवार थिए । जसले अल–कायदाको योजनाअनुसार यो विमानलाई वासिङ्टन डीसीतर्फको लक्षित भवनमा ठोक्क्याउने उद्देश्य राखेका थिए । यद्यपि, विमानको ढिलाइले अल–कायदाको योजनामा अवरोध उत्पन्न भयो, जसले गर्दा अन्य तीनवटा विमानको जस्तै समयमै आक्रमण गर्न सकेनन् ।
अल–कायदाको अपहरण योजनामा सबै चारवटा विमानलाई लगभग १५ मिनेट भित्र अपहरण गरी लक्ष्यमा ठोक्क्याउने थियो । अमेरिकी इतिहासमा भएको यो सबैभन्दा ठूलो आतंकवादी हमलाको योजना वर्षौंसम्म सावधानीपूर्वक तयारी गरिएको थियो । फ्लाइट ९ का अपहरणकारीहरू पनि अत्यधिक तयारीसहित आएका थिए । उनीहरूले आफ्नो अन्तिम रात अरबी भाषामा लेखिएका दस्तावेजहरू पढ्दै बिताए, जसमा तिनीहरूलाई आफ्नो उद्देश्यप्रति दृढ रहन, मृत्युसँग डर नमानी अगाडि बढ्न निर्देशन दिइएको थियो ।
सो दिन बिहान ८ः४१ बजे यूनाइटेड एयरलाइन्सको फ्लाइट ९३ टेकअफ ग¥यो । विमानमा ३३ यात्रु, सात क्रू सदस्य र चार जना अपहरणकारी थिए । बोइङ ७५७ मा १८२ यात्रु अट्न सक्ने भए पनि उक्त दिन विमान लगभग खाली थियो । विमान सान फ्रान्सिस्कोको दिशामा थियो तर ९ः२४ बजे विमानका पाइलटलाई अचानक एयर ट्राफिक कन्ट्रोलले चेतावनी पठायो, ‘ककपिटमा आक्रमणको सम्भावना छ ।’
तर तबसम्म विमान अपहरणकारीहरूको कब्जामा परिसकेको थियो । अपहरणकारीहरूले ककपिटमा प्रवेश गरी पाइलट र सह–पाइलटलाई नियन्त्रणमा लिए । यसपछि, विमानलाई पूर्वतर्फ मोडियो, जहाँ अपहरणकारीहरूको अन्तिम लक्ष्य वासिङ्टन डीसीमा रहेको सरकारी भवनहरू थिए । अपहरणकारीहरूको लक्ष्य अमेरिकी संसद भवन वा ह्वाइट हाउस हुनसक्ने अनुमान गरिएको थियो । जुन थप विशानकारी हुन सक्थ्यो ।
फ्लाइट ९३ मा रहेका यात्रुहरूलाई पहिले विमान अपहरण भएको बारेमा थाहा थिएन । तर, तिनीहरूका केही यात्रुहरूले आफ्नो परिवार वा साथीहरूलाई फोन गरी न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणको जानकारी पाएपछि उनीहरूले स्थिति निकै गम्भीर भएको महसुस गरे ।
जब यात्रुहरूलाई थाहा भयो कि उनीहरूको विमानलाई आत्मघाती मिशनका लागि प्रयोग गर्न लागिएको छ । उनीहरूले साहसिक प्रतिरोध गर्ने निर्णय गरे । यात्रुहरूले फोनमा आफ्ना परिवारसँग कुरा गर्दै, स्थिति स्पष्ट बुझ्न सकेपछि तिनीहरूले विमानभित्र योजना बनाउन थाले । अपहरणकारीहरूलाई रोक्न यात्रुहरूले संयोजन गरि प्रतिरोध गर्न निर्णय गरे ।
लेट्स रोल ! यो भनाइ फ्लाइट ९३ का यात्रु टोड बिमरले भनेका थिए । जसले यात्रुहरूलाई साहसी कदम चाल्न उत्प्रेरित ग¥यो । यात्रुहरूको नेतृत्वमा ककपिटतर्फ धावा बोल्ने योजना बनाइयो । विमानको ब्ल्याकबक्समा कैद भएका आवाजहरूले यात्रुहरूले अपहरणकारीहरूलाई ककपिटको ढोका खोल्न बाध्य पार्न प्रयास गरिरहेका थिए ।
यात्रुहरूको प्रतिरोधले अपहरणकारीहरूलाई गहिरो दबाबमा पारेको थियो। अपहरणकारीहरूले यात्रुहरूको बढ्दो प्रतिरोधलाई देखेर विमानलाई तलतिर खसाल्न थाले । फ्लाइट ९३ अन्ततः पेन्सिल्भेनियाको ग्रामीण क्षेत्र सोमरसेट काउन्टीमा, शान्क्सभिल भन्ने ठाउँमा क्रयास भयो । विमान दुर्घटनामा सबै यात्रु र अपहरणकारीहरू सहित ४४ जनाको मृत्यु भयो ।
फ्लाइट ९३ का यात्रुहरूले आफ्नो जीवनको अन्तिम क्षणसम्म वीरताको परिचय दिए । उनीहरूले आतंकवादीहरूको योजना सफल हुन दिएनन्, र उनीहरूको साहसले सम्भावित ठूलो राष्ट्रिय क्षतिलाई रोकेको थियो । क्यापिटल वा ह्वाइट हाउस जस्ता महत्त्वपूर्ण भवनहरूमा आक्रमण हुने संभावना थियो, तर यात्रुहरूको बलिदानले अमेरिका र विश्वसमक्ष उनीहरूको साहसको नयाँ इतिहास लेखियो ।
पेन्सिल्भेनियामा दुर्घटनामा परेको फ्लाइट ९३ को स्थललाई अहिले एक स्मारकस्थलका रूपमा संरक्षण गरिएको छ । यो स्थल आज पनि सबै अमेरिकी र विश्वभरका मानिसहरूका लागि प्रेरणा बनेको छ । यात्रुहरूको सामूहिक प्रतिरोधले आतंकवादलाई परास्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्