Skip to content
Prabhu

बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता

 

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ । चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्ने गरी सेवा दिएको हो । गाउँपालिकाले १० लाख रुपैयाँसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो । करिब दुई सय योजनामध्ये १ सय ३० योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए । योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ । उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उनले बताए ।

स–साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो । गाउँपालिका आउँदा खर्च, झन्झट र सास्ती खेप्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यस प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडा कार्यालयलाई थप जिम्मेवार र उपभोक्ता समितिलाई चलायमान बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियानको सुरुआत गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 

 तीन लाख रुपैयाँसम्मको योजनाको वडा कार्यालयका वडाध्यक्ष अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । अध्यक्ष थापाले भने, ‘प्रत्येक वडामा एक जनाका दरले प्राविधिक कर्मचारीसमेत खटाइएको छ ।’  तीन लाखभन्दा बढीको योजनाको गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बनेको गाउँपालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्न अधिकार प्रदान गरिएको छ । गाउँपालिकाले रु १० लाखसम्मको योजना वडामै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal