Skip to content

भेनियर निकासी दररेट घटाउन व्यवसायीको माग

nabil bank

झापा ।  पहाडको अन्नबाली नहुने रुखोपाखो जग्गाबाट सङ्कलन हुने कमसल काठबाट उत्पादन भइरहेको भेनियर पाता (कोर भेनियर) को निकासी दररेट घटाउन व्यवसायीले माग गरेका छन् ।

नेपाल भेनियर उत्पादक सङ्घ केन्द्रीय समितिले आज झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै भेनियर पाताको निकासी दररेट घटाउनेलगायतका तीन वटा माग राखेका छन् । 

हाल भेनियर पाताको भारत निकासी दररेट प्रतिकेजी रु छ रहेको जनाउँदै त्यसलाई घटाएर रु तीन कायम गर्न सरकारसँग माग गरिएको नेपाल भेनियर उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले बताए । 

शून्य भन्सार दररेटमा निकासी भइरहेको प्लाइउडलाई सरकारले छ प्रतिशत अनुदान दिइरहेको विषयमा ध्यानाकर्षण गराउँदै सङ्घले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा दैनिक रु दुई करोड विदेशी मुद्रा भित्र्याउने र रु दैनिक ४५ लाखभन्दा बढी राजस्व बुझाउने भेनियर उद्योगलाई भने राज्यले सहुलियत र प्रोत्साहन दिनुको साटो चर्को निकासी शुल्क लगाएको गुनासो गरिएको छ ।

भेनियर पातालाई भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण तयार पार्न सङ्घले सरकारलाई जोडदार आग्रह गरेको छ । हाल नेपालमा एक सय ८० वटा भेनियर उद्योग सञ्चालनमा रहेका छन् । जसले ८० हजार भन्दा बढी मजदुरलाई प्रत्यक्ष परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको सङ्घका उपाध्यक्ष श्याम न्यौपाने बताउँछन् । 

उनका अनुसार पहाडको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, कदम, मलातो, पिठारी, मौवालगायतका रुखको काठलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर भेनियर उद्योगले भेनियर पाता (कोर भेनियर) उत्पादन गर्दै आएका छन् ।

यसरी उत्पादन गरिएको भेनियर पाताको २० प्रतिशत मात्रा स्थानीय प्लाइउड उद्योगहरुले खपत गर्छन् भने बाँकी ८० प्रतिशत भारत निकासी हुने गरेको छ । भारत निकासी हुँदा दैनिक करोडको अङ्कमा विदेशी मुद्रा भित्रिने र लाखौँ रकम राजस्व राज्यको ढिकुटीमा जम्मा हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले पछिल्लो समय प्लाइउड उद्योगीले एकलौटी लाभ लिनका लागि भेनियर उत्पादनको भारत निर्यात निरुत्साहित गर्न सरकारी निकायमा गलत ढङ्गले पैरवी गरिरहेको बताए । 

नेपाल वन पैदावर व्यवसायी सङ्घ इलामका अध्यक्ष दीपक खड्काले नेपालभित्र ठूलो मात्रामा रोजगारीको अवसर सृजना गर्ने, कृषि उपज निकासी गरेर किसानको आर्थिकस्तर वृद्धि गर्ने, वैदेशिक मुद्रा भित्र्याउने र राजस्व बढाउन योगदान दिने भेनियर उद्योगको उचित मूल्याङ्कन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । 

“पहाडमा बसाइँ सर्नेक्रम बढिरहेको हुँदा खेतबारीमा अन्नबाली उत्पादन हुन छाडेको छ र बारीभरि काठपात हुर्किरहेका छन्”, उहाँले भेनियर उद्योगलाई निरुत्साहित गर्न नहुने जिकिर गर्दै भने, “आर्थिक मन्दीका कारण उद्योगी बैंकको ब्याज तिर्न नसकेर व्यवसायबाट पलायन भइरहेको अवस्थामा भेनियर उद्योगलाई धरासायी हुनबाट जोगाउन सरकारले निकासीमा सहुलियत प्रदान गर्नुपर्छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi